जाजरकोट । अविरल वर्षाको कारण जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ स्थित रिसाङ ईलाकामा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ भने उक्त पहिरोमा परी बेपत्ता भएका अन्य दुई जनाको खोजीकार्य जारी छ ।
साउन ३० गते साँझ ५:३० बजे आएको उक्त पहिरोमा परी सोही ठाउँ बस्ने ६२ वर्षीया रामबहादुर शाही, ४५ वर्षीया सिद्धिबहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार्की, १० वर्षीया युनिस शाही, ४५ वर्षीया सुन्तली चदरा र ६१ वर्षीया भद्रकला कार्की घाइते हुनुभएको छ । घाइतेहरुमध्ये राम बहादुर शाही र भद्रकला कार्कीको अवस्था गम्भीर भएकोले थप उपचारको लागि नेपालगंज र सुर्खेततर्फ पठाइएको हो ।
उक्त पहिरोमा परी बेपत्ता भएकाहरुको खोजीकार्यको लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल गुल्म जाजरकोटबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको छ ।
जिल्ला अस्पताल जाजरकोटमा उपचार पश्चात नेपालगंज रिफर भई मेडिकल कलेज कोहलपुरमा उपचाररत सोही नगरपालिका–२ साल्धारा बस्ने ५२ वर्षीया केदार कार्कीको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । यसैगरी बेपत्ता ४ जना मध्य सोही ठाउँ बस्ने ५४ वर्षीया उमा सिँह खत्री र ८३ वर्षीया रति खत्रीको शव खोजीकार्यको क्रममा फेला पारिएको छ ।
यसैगरी सोही नगरपालिका–२ चिसापानी बस्ने ७० वर्षीया भिम बहादुर कार्की र सोही नगरपालिकाको गैरीगाउँ बस्ने १४ वर्षीया हरिस बिक अझै बेपत्ता छन् । हरिस बिक पहिरो पश्चात घरबाट निस्किएकोमा सम्पर्कविहिन हुनुभएको हो । खोज तथा उद्धारको लागि परिचालित टोलीले उहाँहरूको खोजीकार्य जारी राखेको छ ।
उक्त पहिरोमा परी सोही ठाउँका ८ वटा घरमा समेत क्षति पुगेको छ ।


प्रतिक्रिया