बारा। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१, दसधुराबाट तीन दिनदेखि बेपत्ता भएकी तीन वर्षीया बालिका गरिमा चौधरी मङ्गलबार साँझ मृत अवस्थामा फेला परेकी छन् ।
प्रहरीका अनुसार भक्तिटोलस्थित विगत करिब पाँच महिनादेखि खाली रहेको वीरबहादुर रोक्काको घरभित्र बालिकाको शव नग्न अवस्थामा फेला परेको हो । घटनास्थलमा बालिकाले लगाएका भित्री वस्त्रसहित अन्य कपडासमेत भेटिएका छन् ।
स्थानीय मनोज चौधरी र मनमती चौधरीकी छोरी गरिमा आइतबार बिहान करिब साढे ८ बजे बस्तीको बिचबाटै अचानक बेपत्ता भएकी थिइन । परिवार तथा स्थानीयवासीले व्यापक खोजी गर्दा पनि फेला नपरेकी बालिका मङ्गलबार साँझ घरबाट करिब १५० मिटर दक्षिणतर्फ रहेको उक्त खाली घरमा मृत अवस्थामा भेटिएकी हुन् ।
खाली घरबाट दुर्गन्ध आएपछि स्थानीयवासीले झ्यालबाट हेर्दा बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाको शरीर सुन्निएको र यौनाङ्गमा चोट देखिएको जनाएको छ । घटनास्थलमा भेटिएको कपडाको अवस्था र शवको प्रकृतिका आधारमा बालिकामाथि जबर्जस्ती करणी गरी हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीप क्षेत्रीले घटनाको प्रकृति हेर्दा जबर्जस्ती करणीपछि हत्या भएको आशंका गर्ने आधार देखिएको बताए । यद्यपि, घटनाको वास्तविक कारण तथा यौनजन्य हिंसा भए–नभएको विषय शल्यपरीक्षण (पोस्टमार्टम) प्रतिवेदनपछि मात्र यकिन हुने उनले बताए ।


प्रतिक्रिया