सैनिक मोडका होटलहरूमा छापा, ३ जना पक्राउ

सैनिक मोडका होटलहरूमा छापा, ३ जना पक्राउ


ग्लोब नेपाल
0
Shares

झापा । इलाका प्रहरी कार्यालय बिर्तामोडले आइतबार राति मेची आँखा अस्पतालदेखि सैनिकमोड क्षेत्रसम्मका विभिन्न होटलमा छापा मारेको हो। उक्त क्षेत्रमा सञ्चालित केही होटलमा अनैतिक तथा यौनजन्य गतिविधि हुने गरेको गुनासो आएपछि प्रहरीले निगरानी बढाउँदै सर्च अपरेसन सञ्चालन गरेको जनाएको छ।

सर्चका क्रममा प्रहरीले सैनिकमोडस्थित होटल सेभेन इनबाट सञ्चालक गंगा गुरुङसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये होटलमा रहेकी एक युवतीसमेत रहेको प्रहरी स्रोतले जनाएको छ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकले होटलहरूमा अनैतिक गतिविधि हुने गरेको गुनासो आएपछि सर्च अपरेसन सञ्चालन गरिएको बताए। उनका अनुसार गुनासो आएका अन्य होटलमा समेत प्रहरीको निगरानी र अनुसन्धान जारी छ।

प्रहरीले होटलमा हुने गतिविधि, सञ्चालकको भूमिका तथा त्यहाँ कार्यरत व्यक्तिहरूबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानपछि घटनाको वास्तविकता र संलग्नताको विषयमा थप विवरण खुल्ने प्रहरीले जनाएको छ।