लिओनविरुद्धको च्याम्पियन्स लिग प्ले-अफको दोस्रो लेग खेलपछि उत्पन्न अस्तव्यस्त अवस्थामा संलग्न भएको भन्दै फेनरबाचेका खेलाडीहरू मेसन ग्रीनवुड र माटियो गुएन्डुजीलाई निलम्बन तथा जरिवाना गरिएको छ।
फ्रान्समा भएको खेलमा फेनरबाचे २-१ ले विजयी हुँदा समग्र नतिजामा ३-२ को जितसहित टोली अघिल्लो चरणमा प्रवेश गरेको थियो। खेलको अन्तिम सिट्ठी बजेलगत्तै लिओनका कट्टर प्रतिद्वन्द्वी मार्सेबाट विगतमा खेलेका ग्रीनवुड र गुएन्डुजी दुवै जना विपक्षी टोलीका खेलाडी तथा प्रशिक्षकहरूसँगको झडपमा संलग्न भएका थिए।
आर्सनलका पूर्व मिडफिल्डर गुएन्डुजीलाई “खेलमा उपस्थित अन्य व्यक्तिहरूलाई अपमान गरेको, दर्शकहरूलाई उक्साएको र शिष्ट आचरणसम्बन्धी आधारभूत नियमहरू उल्लङ्घन गरेको” आरोपमा युइएफएले शुक्रबार साँझ चारवटा युरोपेली क्लब प्रतियोगिताका खेलहरूमा प्रतिबन्ध लगाएको छ।
युरोपेली फुटबलको नियामक निकायले जारी गरेको विज्ञप्तिअनुसार तीमध्ये दुई खेलको प्रतिबन्ध ‘एक वर्षको परीक्षण अवधि’ को अधीनमा रहनेछ। ५०,००० युरो अर्थात करिब ५८,००० अमेरिकी डलर जरिवानासमेत तोकिएका गुएन्डुजी लियोनका समर्थकहरूलाई ‘मिडल फिङ्गर’ देखाएको तथा झडप निम्त्याउने गरी उक्साहटपूर्ण व्यवहार गरेकोमा दोषी पाइएका हुन्।
त्यस्तै, म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी मेसन ग्रीनवुडलाई पनि “शिष्ट आचरणसम्बन्धी आधारभूत नियमहरू उल्लङ्घन गरेको” भन्दै एक खेलको निलम्बित प्रतिबन्ध र ३०,००० युरो अर्थात करिब ३५,००० अमेरिकी डलर जरिवाना तोकिएको छ।


प्रतिक्रिया