वासिङ्टन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाहिने हातमा चोटको दाग देखिएका नयाँ तस्बिरहरू सार्वजनिक भएपछि उनको स्वास्थ्यलाई लिएर पुनः विभिन्न अड्कलबाजी सुरु भएका छन्।
‘इन्टरनेसनल बिजनेस टाइम्स युके’ को एक प्रतिवेदन अनुसार सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले यस विषयमा चासो र प्रश्न व्यक्त गरिरहेका छन्। तस्बिरमा देखिएको चोटको दाग निकै गहिरो रहेको दाबी गरिएको छ भने उक्त तस्बिर हालै खिचिएको बताइएको छ।
यसैबीच, ट्रम्प र ह्वाइट हाउसले यस विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै उक्त दाग कुनै नयाँ वा असामान्य कुरा नभएको स्पष्ट पारेका छन्। यसअघि पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो हात टेबलमा ठोक्किएको र त्यसपछि सो ठाउँमा क्रिम लगाएको बताउँदै आफू पूर्ण रूपमा स्वस्थ रहेको दाबी गरेका थिए।
ट्रम्पले मुटुको स्वास्थ्यलाई ध्यानमा राख्दै दैनिक रूपमा उच्च मात्रामा (हाई डोज) एस्पिरिन लिने गरेको बताएका छन्। एस्पिरिनले रगत पातलो बनाउने भएकाले शरीरमा सानो चोट लाग्दा पनि दाग अझ प्रस्ट देखिने गर्दछ।
ट्रम्पले भनेका छन्, “यदि तपाईं आफ्नो मुटुको ख्याल राख्न चाहनुहुन्छ भने एस्पिरिन लिनुहोस्; तर शरीरमा कुनै दाग नहोस् भन्ने चाहनुहुन्छ भने यसको सेवन नगर्नुहोस्। म उच्च मात्राको एस्पिरिन लिन्छु, जसले गर्दा चोटका दागहरू बढी देखिन सक्छन्।”
सहयोगीहरूले उनलाई एस्पिरिन लिनु नपर्ने र उनी पूर्ण स्वस्थ रहेको सुझाव दिए पनि कुनै जोखिम मोल्न नचाहेरै उनले यसको निरन्तर सेवन गरिरहेको बताएका छन्। यसअघि ह्वाइट हाउसले पनि बारम्बार हात मिलाउने कार्य र एस्पिरिनको प्रयोगका कारण यस्ता दागहरू देखिने गरेको जनाएको थियो।


प्रतिक्रिया