भारतबाट फर्केलगत्तै सभापति रवि भेट्न प्रधानमन्त्री बालेन सल्लाहकारसहित बुढानीलकण्ठमा

भारतबाट फर्केलगत्तै सभापति रवि भेट्न प्रधानमन्त्री बालेन सल्लाहकारसहित बुढानीलकण्ठमा

आजको क्याविनेटमा कर्मचारी अध्यादेश र प्रहरी नेतृत्वका बारेमा निर्णय आउनसक्ने


ग्लोब नेपाल
351
Shares

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच हिजो बुधबार बूढानीलकण्ठस्थित लामिछाने निवासमा करिब ४ घण्टा छलफल भएको छ। सरकारले ल्याउने तयारी गरेको संघीय निजामती सेवासम्बन्धी अध्यादेश, राजनीतिक नियुक्ति, नेपाल प्रहरीको नेतृत्व तथा सरकारका नीतिगत र प्रशासनिक निर्णयका विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री शाह आफ्ना मुख्य सल्लाहकार कुमार बेनसहित बिहान सवा १० बजे लामिछाने निवास पुगेका थिए। दुई नेताबीच दिउँसो सवा २ बजेसम्म छलफल भएको थियो ।

छलफलमा प्रस्तावित निजामती अध्यादेश र केही महत्त्वपूर्ण राजनीतिक नियुक्तिका विषयले प्राथमिकता पाएको बताइएको छ। निर्णयअघि साझा धारणा बनाउनुपर्ने भएकाले भेट लम्बिएको बताइएको छ। केही राजनीतिक नियुक्तिका विषयमा भने सहमति जुट्न बाँकी रहेको छ।

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग सम्बन्धित विषयमा पनि कुराकानी भएको बताइएको छ। प्रहरी नेतृत्व परिवर्तनको सम्भावना र त्यसपछिको नेतृत्वका विषयमा दुई नेताबीच समान धारणा बनिनसकेको स्रोतको दाबी छ।

भेटमा रास्वपा सांसद खगेन्द्र सुनारसँग सम्बन्धित विवादित अडियो प्रकरणबारे समेत छलफल भएको बताइएको छ। उक्त विषयमा आवश्यक कदम चाल्ने सम्बन्धमा परामर्श भएको स्रोतको भनाइ छ।

यसैबीच, बुधबार बस्ने तयारी गरिएको मन्त्रिपरिषद् बैठक बिहीबारका लागि सारिएको थियो। केही महत्त्वपूर्ण विषयमा सहमति जुट्न बाँकी रहेकाले बैठक सारिएको हुन सक्ने स्रोतको भनाइ छ।

छलफलमा लामिछानेको हालैको भारत भ्रमण र प्रधानमन्त्री शाहको प्रस्तावित नयाँ दिल्ली भ्रमणका विषयमा पनि कुराकानी भएको बताइएको छ। आइतबार मध्यराति भारतबाट काठमाडौँ फर्किएका लामिछानेले भ्रमणका क्रममा भएका भेटघाटबारे प्रधानमन्त्रीलाई जानकारी गराएको स्रोतको भनाइ छ। प्रधानमन्त्री शाहको मंसिर पहिलो साता भारत भ्रमण गर्ने तयारी भइरहेको बताइएको छ।

प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच करिब दुई महिनापछि भेट भएको हो। सरकारी तथा रास्वपा निकट स्रोतहरूले भेटको पुष्टि गरे पनि छलफलका विषय र निष्कर्षबारे दुवै पक्षले औपचारिक विवरण सार्वजनिक गरेका छैनन्।