जनकपुरको पहिलो जित, काठमान्डु ८ विकेटले पराजित

जनकपुरको पहिलो जित, काठमान्डु ८ विकेटले पराजित


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमान्डु गोर्खाजलाई ८ विकेटले पराजित गर्दै जनकपुरले प्रतियोगितामा जितको खाता खोलेको हो।

काठमान्डुले दिएको ११६ रनको सामान्य लक्ष्य जनकपुरले १७ ओभर २ बलमा दुई विकेट गुमाएर पूरा गर्‍यो। जनकपुरको जितमा मोइन अलीको अविजित अर्धशतक र सैफ हसनसँगको महत्वपूर्ण साझेदारी निर्णायक बन्यो।

मोइनले ५१ बलको सामना गर्दै तीन चौका र तीन छक्कासहित अविजित ५८ रन बनाए। उनलाई सैफ हसनले ३९ बलमा अविजित ४० रन जोड्दै साथ दिए। यी दुई ब्याटरले तेस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी गर्दै टोलीलाई लक्ष्यसम्म पुर्‍याए।

लक्ष्य पछ्याउने क्रममा जनकपुरको सुरुवात भने सन्तोषजनक हुन सकेको थिएन। टोलीले सात रनमै ओपनर तृतराज दासलाई गुमाएको थियो। पाँच रन बनाएका दास आउट भएपछि जनकपुरले ३७ रनको अवस्थामा दोस्रो विकेटका रूपमा मयन यादवलाई गुमायो। यादवले नौ रन बनाए।

दुई विकेट गुमेपछि मोइन र हसनले इनिङ्स सम्हाले। उनीहरूले थप विकेट नगुमाई आवश्यक रन पूरा गरे। काठमान्डुका रिपोन मोन्डलले एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु १९ ओभर ३ बलमा ११५ रनमै समेटिएको थियो। जनकपुरका राहुल यादवले चार विकेट लिएपछि काठमान्डुले ठूलो योगफल बनाउन सकेन।

राहुलले चार ओभर बलिङ गर्दै ३१ रन खर्चेर चार महत्वपूर्ण विकेट लिए। उनले ओपनर साम हिजलेट र स्मित पटेलसँगै कप्तान करण केसी तथा मोहम्मद आदिल आलमलाई आउट गरेका थिए।

जनकपुरका सैफ हसनले दुई विकेट लिँदा मोइन अली, कप्तान हरमीत सिंह र ललित राजवंशीले समान एक–एक विकेट हात पारे।

काठमान्डुका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। उनले २९ बलमा चार चौका प्रहार गरे। अन्य ब्याटरले उल्लेखनीय साझेदारी गर्न नसक्दा टोलीको इनिङ्स दबाबमा परेको थियो।

काठमान्डुले ६ रनमा साम हिजलेटलाई गुमाएको थियो। एक रन बनाएका हिजलेट आउट भएपछि १९ रनको अवस्थामा हरिशंकर शाह पनि नौ रन बनाएर पभेलियन फर्किए।

त्यसपछि पनि नियमित अन्तरालमा विकेट गुमाएको काठमान्डुका राशिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन बनाए। कप्तान करण केसी आठ, जहानदाद खान पाँच र रिपोन मोन्डल नौ रनमा आउट भए।

मोहम्मद आदिल आलम पहिलो बलमै एलबीडब्लु आउट हुँदा शाहव आलम चार रनमा अविजित रहे।

यसअघि प्रतियोगिताको पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो। काठमान्डुविरुद्धको जितसँगै जनकपुरले पहिलो खेलको हारपछि प्रतियोगितामा पुनरागमन गरेको छ।

बुधबारको दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुने तालिका छ।