इनम सापकोटा प्रकरणः अनुसन्धान ३ पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवतर्फ सोझियो

इनम सापकोटा प्रकरणः अनुसन्धान ३ पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवतर्फ सोझियो


ग्लोब नेपाल
270
Shares

काठमाडौं । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएका इनम सापकोटा यति बेला जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका छन् । इनमसँग सम्पर्क देखिएपछि लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील भट्टलाई समेत प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

असोज १४ मा नयाँ दिल्ली जान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका इनम ‘हाइप्रोफाइल’ बिचौलिया रहेको अनुसन्धानले देखाएको छ । इनम र सुशील भट्टमाथि प्रहरीले राष्ट्र बैङ्क ऐन २०५८ अन्तर्गतको कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका गर्न एसपी नरहरि रेग्मीको नेतृत्वमा विशेष अनुसन्धान समिति गठन गरिएको छ । विशेष अनुसन्धान समितिका संयोजक रेग्मी उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन् । विशेष समितिले जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरूलाई सहयोग गर्नेछ । चोलेन्द्र शमशेर जबराले इनमलाई परिचालन गरेर व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको मुद्दामा चलखेल गरेको सूचनाको आधारमा उनी अनुसन्धानको दायरामा आएका हुन् ।

उनको मोबाइलको डीएफएल जाँच गर्दा थुप्रै हाइप्रोइलको सम्पर्क देखिएसँगै अनुसन्धान थप जटिल बन्दै गएको छ । एकजना उच्च प्रहरी अधिकृतका अनुसार अनुसन्धान पूर्व प्रधानमन्त्रीका स्वकीय सचिवहरूतर्फ सोझिएको छ । इनम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वकीय सचिव भएर लामो समय काम गरेका भानु देउवासँग निकट थिए ।

भानुसँग इनमको सम्पर्कबारे अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले जानकारी दिए । ती अधिकृत भन्छन्, ‘उहाँसँग पनि कुरा भएको देखिन्छ तर, आर्थिक त्यो सम्पर्क आर्थिक लेनदेनसँग सम्बन्धित छ वा छैन भनेर हेर्ने काम भइरहेको छ ।’ अदालतमा विचाराधीन मुद्दामा चलखेल गरेको आशङ्कामा प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा असोज ११ मा चोलेन्द्र पक्राउ परेका थिए ।

तर, मुद्दा चलाउन मिल्ने प्रमाण नभेटिएपछि उनी रिहा भए । अहिले इनमसँगै थुनामा रहेका सुशील भट्ट व्यवसायी दीपक भट्टका दाजु हुन् । व्यवसायी दीपक भट्ट अहिले सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा पुर्पक्षका लागी कारागार कार्यालय सिन्धुपाल्चोकमा छन् ।

प्रहरी उच्च स्रोतका अनुसार इनमको मोबाइलमा फेला परेको विवरण अनुसार पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी एवं स्वकीय सचिव भएर काम गरेकी गंगा दाहाल र केपी शर्मा ओलीका स्वकीय सचिव सचिव राजेश बज्राचार्यतर्फ अनुसन्धान केन्द्रित गरिएको छ ।

ती अधिकृत भन्छन्, ‘३ जना पूर्व प्रधानमन्त्रीका स्वकीयहरू सम्म पुग्ने गरी अनुसन्धान भइरहेको छ ।’ पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यमाथि अख्तियारले पनि अनुसन्धान गरिरहेको छ । अकुत सम्पत्ति आर्जन गरेको आशङ्कामा आयोगले उनीमाथि अनुसन्धान जारी राखेको हो ।