भुटानमा आकस्मिक बाढी, हिमताल विस्फोटको आशंका

भुटानमा आकस्मिक बाढी, हिमताल विस्फोटको आशंका


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । भुटानमा गएराति आएको आकस्मिक बाढीले विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीको कारण हिमताल विस्फोट भएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, त्यसको आधिकारिक पुष्टि भइसकेको छैन।

बाढीले गासा जिल्लाको छाचु क्षेत्र पूर्ण रूपमा बगाएको छ। मो छू नदीमा आएको बाढीले पुनाखा जिल्लास्थित सौर्य सिँचाइ प्रणालीमा समेत क्षति पुर्‍याएको छ। बाढीसँगै बगेर आएको ढुंगा, माटो र गेग्रानले जोमलिङथाङ क्षेत्रमा पुनाखा–गासा राजमार्गको एक खण्ड बगाएको छ।

त्यस्तै, लाया गेओगको सडकअन्तर्गत टोङचुद्राक खण्डको केही भाग बाढीले बगाएको छ। सडक अवरुद्ध भएपछि लाया क्षेत्र देशका अन्य भागसँगको सडक सम्पर्कबाट विच्छेद भएको भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस)ले जनाएको छ।

बाढीबाट अहिलेसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभएको बीबीएसले उल्लेख गरेको छ। रातिको समयमा बाढी आएकाले तत्काल क्षतिको पूर्ण विवरण संकलन गर्न कठिन भएको अधिकारीहरूले बताएका छन्। सुरक्षाकर्मी तथा सम्बन्धित निकायले प्रभावित क्षेत्रको अवस्था र नदीको जलस्तर निरन्तर निगरानी गरिरहेका छन्।

सिन्ताफु हिमताल विस्फोट भएको आशंका
गासा जिल्लास्थित सिन्ताफु हिमताल विस्फोट भएर बाढी आएको हुन सक्ने आशंका गरिएको छ। सिन्ताफु हिमताल भुटानका १७ सम्भावित जोखिमयुक्त हिमतालमध्ये एक हो। यो ताल गासा जिल्लाको लाया गेओगस्थित लुंगो क्षेत्रमा वाकिला हिमालको फेदीमा रहेको छ।

मो छू नदीको मुहान क्षेत्रमा पर्ने उक्त हिमताल विस्फोट भएको आशंका गर्नुको मुख्य कारण बाढी सोही नदीमा आउनु हो। सामाजिक सञ्जालमा सार्वजनिक केही तस्बिरमा हिमतालबाट पानी बाहिरिएको जस्तो देखिए पनि त्यसको आधिकारिक पुष्टि हुन बाँकी छ।

जोखिम क्षेत्रमा रहेकालाई सुरक्षित स्थानमा सारियो
बाढीको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका सैनिक, कर्मचारी र स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। ताक्त्सिमाखाङमा खटिएका सैनिक, परियोजना कार्यालयका कर्मचारी तथा गासा छाचु क्षेत्रमा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ।

गासा छाचुको तातोपानी कुण्डमा कार्यरत कर्मचारी र त्यहाँ पुगेका आगन्तुकलाई समेत सुरक्षित स्थानमा सारिएको छ।

त्यस्तै, पुनाखाको येबिसा क्षेत्रमा पनि बाढीको पानी पुगेको छ। पुनाखा सेन्ट्रल स्कुलले आफ्ना सबै आवासीय विद्यार्थीलाई सुरक्षित रूपमा अग्लो स्थानमा सारिएको पुष्टि गरेको छ।

नदीको जलस्तर निगरानी, साइरन प्रणाली सक्रिय
हिमताल विस्फोट भएको वा अन्य कारणले बाढी आएको भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन। घटनाको वास्तविक अवस्था, बाढीको परिमाण र त्यसबाट भएको क्षतिको विस्तृत विवरण पनि आउन बाँकी छ।

भुटानको राष्ट्रिय जलविज्ञान तथा मौसम विज्ञान केन्द्र (एनसीएचएम)ले मो छू नदीको तासिथाङ र येबिसा क्षेत्रमा पानीको सतह निरन्तर निगरानी गरिरहेको जनाएको छ। मो छू र पुनात्साङछु नदीको तल्लो तटीय क्षेत्रमा जडान गरिएका साइरन प्रणालीसमेत सक्रिय पारिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै छिमेकी जिल्लालाई पनि सतर्क गराइएको छ।

बाढीसँगै ढुंगा, माटो र अन्य गेग्रान बगेर आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै पुनात्साङछु–२ जलविद्युत् आयोजनाले विद्युत् उत्पादनका सबै युनिट बन्द गरेको छ।

आयोजनाले बाँधका ढोका खोलेर जलाशयको पानीको सतह घटाएको छ। बाढीको पानी र त्यससँगै बगेर आउने गेग्रानलाई सहज रूपमा निकास दिन यस्तो सावधानी अपनाइएको आयोजनाले जनाएको छ।