काठमाडौं । हिजो बुधबार सरकारले दानबहादुर कार्कीलाई हटाएर प्रहरी महानिरीक्षकमा मनोज केसीलाई नियुक्त गरेसँगै कांग्रेसका सभापति गगनकुमार थापामाथि निगरानी बढाएको को समाचार यतिबेला चर्चामा छ । पछिल्लो समय प्रधानमन्त्री वालेन्द्र शाहका कदमविरुद्ध खरो रूपमा प्रस्तुत भएका थापाविरुद्ध निगरानी बढाएको जानकारहरुको भनाइ छ ।
न्यौपाने थरका एक जना डीएसपीको टोलीले सभापति थापाका गतिविधिमाथि निरन्तर निगरानी गरिरहेको र बुधबार आईजीपीबाट कार्कीलाई हटाएसँगै त्यो झन् बढेको पाइएको गगन सचिवालयका सदस्यहरूको भनाइ छ । उनको भनाइमा मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु जाँदा पनि थापालाई प्रहरीले निगरानी गरिरहेकै थियो ।
प्रहरी हिरासतमा रहेका इनम सापकोटाले कांग्रेस आधिकारिकताबारे दिएको भनिएको बयान प्रधानमन्त्री शाहको सचिवालयको योजनामा सार्वजनिक गरिएको भन्दै सरकारविरुद्ध कांग्रेस आक्रामक रूपमा प्रस्तुत भइरहेको छ । कात्तिक १५ मा थापाले बालेन सरकारविरुद्ध आक्रमक अभिव्यक्ति दिएपछि निगरानी बढाएको सभापति थापाको सचिवालयले जानकारी दिएको छ ।
तिहारअगाडि केही मान्छे पक्राउ गर्ने योजना अनुसार नै बुधबार आईजीपी दानबहादुर कार्कीलाई हटाइएको एक सुरक्षा अधिकारीले जानकारी दिए ।‘दानबहादुर कार्कीलाई हटाउने कुरामा प्रधानमन्त्री प्रस्ट हुनुहुन्थ्यो। तर, शुक्रबारसम्म हटाउने भन्ने थियो। तिहारअघि नै केही नेताहरू पक्राउ गर्न बुधबार नै कार्कीलाई हटाउने निर्णय भएको हो’, ती अधिकारीले थपे ।


प्रतिक्रिया