टर्कीको पश्चिमी क्षेत्रमा बिहीवार तीनवटा गाउँमा फैलिएको भीषण गोलीकाण्डमा ८ जनाको हत्या भएको छ ।
उक्त घटनामा संलग्न रहेको आरोपमा २८ वर्षीय कम्बाइन हार्भेस्टर अपरेटर अरिफ सेफा ओज्देमिरलाई छिमेकी प्रान्तबाट बिहीवार नै प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्थानीय सञ्चारमाध्यमहरूकाअनुसार ओज्देमिरले अनुसन्धानका क्रममा व्यक्तिगत रिसिबी र सवारी साधन कब्जा गर्ने उद्देश्यले हत्या गरेको स्वीकार गरेका छन् । उनले कम्बाइन हार्भेस्टर खरिदको विषयलाई लिएर शुरु भएको विवादपछि पहिलो तीन जनाको ज्यान लिएको बयान दिएका छन् ।
ओज्देमिरले आफूले एक पीडितसँग ऋणमा मेसिन खरिद गरेको र मेसिन बिग्रिएको तथा बाँकी भुक्तानीको विषयमा विवाद चर्किएपछि घटनाले हिंसात्मक रूप लिएको बताएका छन् । आरोपीको बयानअनुसार उनले विक्रेता र अन्य दुई जनालाई ग्रामीण क्षेत्रमा बोलाएर गोली चलाएका थिए ।
त्यसपछि उनले आफ्नो भाग्ने बाटोमा पर्ने अन्य व्यक्तिहरूलाई पनि निशाना बनाएका थिए । आफ्नो सवारी फेर्ने उद्देश्यले उनले बाटोमा हिँडिरहेका तीन महिला शिक्षकसहित अन्य व्यक्तिमाथि पनि आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका ओज्देमिरमाथि ‘बहुव्यक्तिगत नियतवश हत्या’ को अभियोगमा मुद्दा दर्ता गरिएको छ । बयानका क्रममा उनले आफू अत्यधिक मदिराको नशामा रहेको र घटनाको समयमा आफूले के गरिरहेको छु भन्ने होस नभएको दाबी गरेका छन् । टर्की प्रहरीले घटनाको थप गहिराइबाट अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया