ह्वाइट हाउसनजिक गोली चल्दा एक जनाको मृत्यु, चार घाइते, संदिग्ध बन्दुकधारी पनि मृत फेला

ह्वाइट हाउसनजिक गोली चल्दा एक जनाको मृत्यु, चार घाइते, संदिग्ध बन्दुकधारी पनि मृत फेला



अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित ह्वाइट हाउसनजिकको एक व्यायामशालामा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घटनाका संदिग्ध बन्दुकधारी पनि पछि मृत फेला परेका छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार बिहीबार बिहान ह्वाइट हाउसबाट करिव १.६ किलोमिटर उत्तरमा रहेको व्यायामशालामा गोली चलेको थियो । घटनापछि संदिग्ध व्यक्ति नजिकैको एक अपार्टमेन्ट भवनभित्र आफूलाई थुनेर बसेका थिए ।

प्रहरीले उनीसँग टेलिफोनमार्फत सम्पर्क गरिरहेको एनबीसी न्युजले जनाएको छ । पछि प्रहरीले उनलाई आफैँले गोली चलाएको आशंका गरिएको अवस्थामा मृत फेला पारेको थियो । अपार्टमेन्ट भवनसँग सम्बन्धित कुनै विवादका कारण घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको समाचारमा उल्लेख छ ।

वासिङ्टन डीसीको महानगरीय प्रहरी विभागले घटनास्थलको सुरक्षा अवस्था नियन्त्रणमा आएको जनाएको छ । यद्यपि, आसपासका क्षेत्रमा सवारी आवागमनमा लगाइएका प्रतिबन्ध भने कायमै रहेको विभागले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएको छ ।

यसअघि प्रहरीले १५ औँ र पी स्ट्रिट आसपासमा गोली चलिरहेको सूचना दिँदै सर्वसाधारणलाई उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको थियो । गन भायलेन्स आर्काइभकाअनुसार बिहीबारसम्म यस वर्ष अमेरिकामा ४०८ वटा सामूहिक गोलीकाण्डका घटना अभिलेख गरिएको छ । ती घटनामा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।