नेतृत्वविरुद्ध उभिँदा एमाले पराजित भएको थापाको निष्कर्ष

नेतृत्वविरुद्ध उभिँदा एमाले पराजित भएको थापाको निष्कर्ष


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधि सभामा संसदीय दलका नेता रामबहादुर थापाले पार्टीभित्रको आन्तरिक एकता कमजोर हुँदा निर्वाचनमा पराजय भोग्नुपरेको निष्कर्ष सुनाएका छन् ।

बिहीवार काठमाडौंमा जारी एमाले राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै थापाले पार्टीले प्रतिद्वन्द्वीविरुद्ध प्रभावकारी सहकार्य गर्न नसकेको, आन्तरिक एकता कायम गर्न नसकेको र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न नसकेको बताएका हुन् ।

उनले पार्टीभित्रको विभाजन, संगठनात्मक अराजकता र दक्षिणपन्थी अवसरवादलाई नियन्त्रण गर्न नसक्नु पनि पराजयका कारण रहेको उल्लेख गरे । अल्गोरिदमको भ्रम र डिप स्टेटको षड्यन्त्र चिर्न नसकेको उनको भनाइ छ । थापाले पार्टीले मुख्य प्रतिद्वन्द्वीविरुद्ध सहकार्य गर्दा र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्दा निर्वाचनमा विजय हासिल गरेको स्मरण गरे । नेतृत्वको वरिपरि एकताबद्ध हुँदा पार्टी हाबी हुने तर नेतृत्वविरुद्ध उभिँदा दुवै पक्ष पराजित हुने उनको टिप्पणी छ । उनले केन्द्रिय समितिले विगतको निर्वाचनबारे गम्भीर आत्मसमीक्षा गरी सही निष्कर्ष निकालेको भन्दै त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। सम्बोधनका क्रममा थापाले पछिल्लो राजनीतिक घटनाक्रममा भू–राजनीतिक शक्तिहरूबीचको संघर्ष तिब्र बन्दै गएको र पपुलिस्ट शक्तिहरूको आन्तरिक सत्ता संघर्ष चर्किरहेको बताए । लोकतान्त्रिक शक्तिहरूबीचको सहकार्य बढ्दै गएको तथा जनतामा व्याप्त भ्रम हट्दै आक्रोश बढिरहेको उनको विश्लेषण छ ।

उनले संसदीय, सडक र कानूनी संघर्षका माध्यमबाट फासिवादको प्रतिवाद गर्दै त्यसलाई पराजित गर्नुपर्ने बताए । संविधान र राष्ट्रिय स्वाभिमानको रक्षा तथा समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न संघर्षका सबै मोर्चामा एकतावद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘विगतको निर्वाचनमा हामीले राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध प्रभावकारी सहकार्य गर्न सकेनौँ, आन्तरिक एकता कायम गर्न सकेनौँ र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न सकेनौँ । साथै, सामाजिक सञ्जालको भ्रम, कथित डीप स्टेटको षड्यन्त्र, दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई नियन्त्रण गर्न सकेनौँ । जब हामीले आपसी सहकार्य र एकता कायम गर्‍यौँ, जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्‍यौँ र नेतृत्वको वरिपरि गोलबन्द भयौँ, तब सफलता प्राप्त गरेका छौँ । यी विगतका अनुभवबाट शिक्षा लिन आवश्यक छ । केन्द्रिय समितिले विगतको निर्वाचनको गम्भीर समीक्षा गरी निष्कर्ष निकालेको छ । अब ती निष्कर्षलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छ । अहिले भू–राजनीतिक प्रतिस्पर्धा तीव्र हुँदै गएको छ। पपुलिस्ट शक्तिहरूभित्रको सत्ता संघर्ष, लोकतान्त्रिक शक्तिहरूबीच बढ्दो सहकार्य र जनतामा देखिएको असन्तुष्टिले नयाँ राजनीतिक परिस्थिति निर्माण गरिरहेको छ । त्यसैले कानूनी, राजनीतिक, संसदीय र सडक संघर्षका सबै मोर्चाबाट लोकतान्त्रिक मूल्य, संविधान र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न आवश्यक छ । यसबाटै समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशामा अघि बढ्न सकिन्छ । राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि एकता, संघर्ष र विजयको विकल्प छैन। आउनुहोस्, दृढतापूर्वक अघि बढौँ ।’

राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि एकता, संघर्ष र विजयको विकल्प नभएको उल्लेख गर्दै थापाले पार्टीका नेता तथा कार्यकर्तालाई विजयको मार्गमा दृढतापूर्वक अघि बढ्न आह्वान गरे ।