प्रधानमन्त्री शाहको भारत भ्रमणले बहुआयामिक ब्रेक थ्रु ल्याउने

प्रधानमन्त्री शाहको भारत भ्रमणले बहुआयामिक ब्रेक थ्रु ल्याउने


ग्लोब नेपाल
0
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा दुई देशको सम्बन्धमा ‘बहुआयामिक ब्रेक थ्रु’ ल्याउने तयारी सरकारले गरेको छ । यही मङ्सिर ६ र ७ गते प्रधानमन्त्री शाहको भारत भ्रमण हुने तय भएको छ । उच्चस्तरीय भ्रमणमा प्रस्तुत हुने राष्ट्रिय एजेन्डा, प्रधानमन्त्री शाहले प्रस्तुत गर्नुहुने राष्ट्रिय धारणा र अन्य कागजी प्रक्रिया सबैमा सरकारले दुवै देशको मनसाय झल्काउँदै छिमेकी सम्बन्धलाई ‘बहुआयामिक ब्रेक थ्रु’ मा लैजाने कसरत गरेको हो ।

भारत भ्रमणमा प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा हुने एकल तथा प्रतिनिधिमण्डलसहितको छलफलमा प्रस्तुत हुने प्रस्तावका विषयमा परराष्ट्र मन्त्रालयमा हिजो बिहीबार गहन छलफल भयो । लगभग तय भएको एजेन्डामा थपघटका विषय, भाषाशैली, भाव र शब्द चयनका लागि प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सामूहिक गृहकार्य बिहीबार राति अबेरसम्म जारी रह्यो ।

परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईले भ्रमणलाई लिएर भारत सरकारसँग उच्चस्तरीय समन्वय गरिरहेका छन् । उनीहरूले एजेन्डा तयार गर्न बनेको समूहलाई अन्तरमन्त्रालय समन्वय र सहकार्यलाई ध्यानमा राख्न निर्देशन पनि दिएका छन् ।

गृहकार्यमै व्यस्त रहेका परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले भने, “हामी भ्रमणलाई फलदायी बनाउन बृहत् र घनिभूत रूपमा भ्रमणका दस्ताबेज र एजेन्डालाई अन्तिम रूप दिँदै छौँ, लगातार ३ दिन भयो यसको परिमार्जन र पुनरवलोकनमा काम गरिरहेका छौँ ।” एजेन्डालाई अन्तिम रूप दिन बसेकी प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पनि प्रधानमन्त्री शाहको भ्रमणलाई जनअपेक्षा अनुसार सफल बनाउन सहकार्य जारी रहेको प्रस्ट्याइन । दाहालले भनिन्, “एजेन्डा मात्र हैन समग्र भ्रमणको सारलाई बलियो बनाउनु पर्छ भनेर सबै मन्त्रालयसँगको समन्वयलाई बलियो बनाइएको छ ।”

उनले भनेजस्तै उक्त गृहकार्यमा दुई देशको सम्बन्धलाई बहुआयामिक सहकार्यमा बदल्ने उद्घोषलाई बलियो बनाउन सन्तुलित शब्दहरूको खोजी भयो ।

“सहकार्य, साझेदारी, आपसी समन्वय, गहन सहकार्य, मैत्रीपूर्ण सहकार्य, दुई देशको हित वा आपसी हित जस्ता अनगन्ती शब्द चयनका लागि मन्थन भयो । त्यति मात्र हैन, नेपाली र अङ्ग्रेजी दस्ताबेजको भावलाई उस्तै दर्शाउन कसरी सकिन्छ भन्ने विषयमा प्रधानमन्त्रीको कार्यालय र परराष्ट्र मन्त्रालयबिच गहिरो छलफल चल्यो,” उनले जानकारी दिइन ।

शिष्टाचार महापाल कुमारराज खरेलले भ्रमणलाई अनुशासित, संयमित र शिष्टाचारयुक्त बनाउन आफ्नो सम्पूर्ण टोलीलाई सक्रिय बनाएका छन् । भ्रमणको संवेदनशीलता र सुरक्षालाई व्यवस्थित गर्ने काममा शिष्टाचार महाशाखा खटिएको छ । उच्चस्तरीय भ्रमणको गहनता र महत्वको ख्याल गर्दै भारत सरकारका विविध निकायसँग पनि सहकार्य भइरहेको छ ।