विद्युतीय पासोमा परी बर्दियामा ३ जनाको मृत्यु

विद्युतीय पासोमा परी बर्दियामा ३ जनाको मृत्यु



बर्दिया । जंगली बँदेललाई थापेको विद्युतीय पासोमा परी बर्दियामा ३ जनाको मृत्यु भएको छ । जिल्लाको ठाकुरबाबा नगरपालिका–३ गोदाना गाउँमा एकै परिवारका तीन जनाको विद्युतीय पासोमा परी मृत्यु भएको हो । मृत्यु हुनेमा ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षका सुनिता थारु र बालकृष्णका भाउजु ४३ वर्षका बेलमती थारु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार छिमेकीले बँदेल धपाउन धान खेतमा लगाएको विद्युतीय पासोबाट करेन्ट लाग्दा उनीहरुको मृत्यु भएको हो । गएराति खेतमा पानी हेर्न गएका बेला उनीहरुलाई करेन्ट लागेको पनि बताइएको छ ।पासो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ। उनी मृतक थारुका छिमेकी हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।