विवाहमा २५ लाखको मिठाई, लाखौँको भीड र घण्टौँ सडक जाम

विवाहमा २५ लाखको मिठाई, लाखौँको भीड र घण्टौँ सडक जाम


ग्लोब नेपाल
0
Shares

बिहारको मोकामाका चर्चित विधायक अनन्त कुमार सिंहकी छोरी शिवांगी सिंहको विवाह सम्पन्न भएको छ। केही दिनदेखि चर्चामा रहेको यो विवाह समारोहमा अपेक्षाभन्दा बढी मानिसको भीड जुटेपछि बिहारको पटना जिल्लास्थित नदवाँ गाउँ र आसपासका क्षेत्र अस्तव्यस्त बनेका छन्।

विवाहमा लाखौँ मानिस सहभागी भएको अनुमान गरिएको छ। भीडका कारण बाढीदेखि अनन्त सिंहको पैतृक गाउँ नदवाँ जाने सडकमा बुधबार बिहानैदेखि सवारीसाधनको लाम लागेको थियो। सडक जामले सर्वसाधारणदेखि विशिष्ट अतिथिसम्मको आवागमन प्रभावित भयो।

शिवांगी सिंहको विवाहमा सहभागी हुन बिहारका विभिन्न जिल्लाका साथै अन्य राज्यबाट समेत मानिसहरू पुगेका थिए। केही रिपोर्टअनुसार विवाहमा करिब ५ लाख पाहुना आउने अनुमान गरिएको थियो। तर वास्तविक भीड अनुमानभन्दा धेरै बढी भएको बताइएको छ।

विवाह समारोहमा २५ लाख मिठाइको व्यवस्था गरिएको चर्चा पनि व्यापक बनेको छ। भोजमा सहभागी हुने मानिसहरूको संख्या यति धेरै थियो कि भीडको वास्तविक आँकलन गर्नसमेत कठिन भएको बताइएको छ। केही पाहुना हेलिकोप्टरमार्फत समेत विवाह समारोहमा पुगेका थिए।

 विधानसभा अध्यक्षसमेत जाममा फसे

विवाहमा सहभागी हुन आउँदै गरेका बिहार विधानसभा अध्यक्ष प्रेमकुमारसमेत भीषण ट्राफिक जाममा फसेका थिए। उनको सवारीसाधनको काफिला घण्टौँसम्म जाममा परेको बताइएको छ।

बाढीदेखि नदवाँसम्मको मुख्य सडकमा सवारीसाधनको चाप अत्यधिक भएपछि यातायात व्यवस्था प्रभावित भएको थियो। विवाहमा सहभागी हुन आएका विशिष्ट अतिथिहरूलाई समेत आवागमनमा कठिनाइ भएको थियो।

दुलहा ऋषिकेश र दुलही शिवांगीले लिए आशीर्वाद

विवाहको जयमालाको क्रममा दुलहा ऋषिकेश कुमार र दुलही शिवांगी सिंहले हात जोडेर उपस्थित मानिसहरूबाट आशीर्वाद लिएका थिए। ऋषिकेशले हल्का गुलाबी रंगको शेरवानी, सेतो चुडीदार पाइजामा र गुलाबी पगडी लगाएका थिए। उनको गलामा मोतीको हार थियो।

यसअघि साँझ ढल्दै गर्दा बिहटाबाट नदवाँ गाउँका लागि जन्ती प्रस्थान गरेको थियो। जन्ती बिदाइका क्रममा ऋषिकेशकी आमा तथा अनन्त सिंहकी सम्धिनी आशा देवीले परिछन अर्थात् नजर उतार्ने परम्परागत विधि पूरा गरेकी थिइन्। आशा देवीसँगै दुलहाकी चाची पनि जन्तीलाई केही दूरीसम्म बिदाइ गर्न पुगेकी थिइन्।

 बिहारकै चर्चित विवाहमध्ये एक

कुनै विशेष प्रचारप्रसार वा सार्वजनिक सम्बन्ध अभियान नगरे पनि विवाहमा देखिएको भीडले अनन्त कुमार सिंहको लोकप्रियता बिहारका विभिन्न क्षेत्रमा रहेको चर्चा गरिएको छ।

नदवाँ गाउँ र आसपासका स्थानीयवासीको उत्साह पनि विवाह समारोहमा देखिएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा ठूलो संख्यामा उपस्थित मानिसहरूले एकै स्वरमा ऋषिकेश र शिवांगीलाई विवाहको शुभकामना तथा आशीर्वाद दिएको दृश्य देखिएको छ।

विशाल भोज, लाखौँको भीड, विशिष्ट अतिथिको सहभागिता र सडक जामका कारण अनन्त सिंहकी छोरी शिवांगी सिंहको विवाह बिहारकै चर्चित विवाह समारोहहरूमध्ये एक बनेको छ।