काठमाडौं । कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय नेता कान्छाराम तामाङविरुद्ध अदालतमा दायर चेक अनादरसम्बन्धी मुद्दामा बिहीबार जिल्ला अदालत लमजुङमा सुनुवाइ हुने भएको छ।
पूर्वराज्यमन्त्रीसमेत तामाङसहित दुईजनाविरुद्ध व्यावसायिक कारोबारका क्रममा भुक्तानी गर्नुपर्ने रकम नदिएको र पर्याप्त मौज्दात नभएको बैंक चेक दिएको आरोपमा मुद्दा दायर भएको हो।
कान्छाराम नाना जेभीका प्रोप्राइटरसमेत रहेका तामाङविरुद्ध लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राइटर रेवन श्रेष्ठको तर्फबाट मुद्दा दर्ता भएको हो।
पीडित पक्षका अनुसार पटक(पटक रकम भुक्तानीका लागि ताकेता गर्दा पनि तामाङले रकम दिएका छैनन्। बरु खातामा पर्याप्त मौज्दात नभएको चेक दिएर झुक्याएको आरोप लगाइएको छ।
पीडित पक्षले प्रचलित कानुनबमोजिम कारबाही गर्दै तिर्नुपर्ने बिगोसमेत असुलउपर गराउन माग गरेको छ। सोही मुद्दाको पेसी आजका लागि तोकिएको हो।
विभिन्न कम्पनीमार्फत ठेक्का लिने तर काम सम्पन्न नगर्ने विषयमा समेत विवादमा पर्दै आएका तामाङका केही कम्पनी कालोसूचीमा परिसकेको छ।


प्रतिक्रिया