पथरी । भारतको सिक्किममा आयोजना हुने तीन खेलको यु-१९ क्रिकेट सिरिजमा मोरङको पथरी शनिश्चरेका चार महिला खेलाडी सहभागी हुने भएका छन्।
एनिस्का थापा, समीक्षा राई, सुभेच्छा लिम्बु र स्मारिका गौतम मंसिर ११ गते भारत प्रस्थान गरेका हुन्। सिरिजको पहिलो खेल मंसिर १२ गते हुनेछ।
चारै खेलाडी पथरी शनिश्चरे–४ स्थित कीर्तिपुर एकेडेमीमा क्रिकेट प्रशिक्षण गर्दै आएका छन्। उनीहरूले यसअघि जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै खेल अनुभव हासिल गरिसकेका छन्।
भारतमा हुने सिरिज उनीहरूका लागि आफ्नो क्षमता परीक्षण गर्ने, प्रतिस्पर्धात्मक अनुभव बढाउने र खेलस्तर सुधार गर्ने अवसरका रूपमा रहनेछ।
कीर्तिपुर एकेडेमीका प्रिन्सिपल पुकार राईले खेलाडीहरूलाई नियमित प्रशिक्षण र प्रतिस्पर्धाको अवसर उपलब्ध गराउँदै उनीहरूको प्रतिभा विकासमा विद्यालयले निरन्तर काम गरिरहेको बताए।
स्थानीय स्तरमा क्रिकेटको विकास र विशेषगरी महिला खेलाडीलाई प्रोत्साहन गर्ने प्रयासका बीच चार खेलाडीको भारत सहभागितालाई पथरी शनिश्चरेको खेलकुद क्षेत्रको सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ।


प्रतिक्रिया