वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा रहेका करिब पाँच जना मन्त्रिपरिषद् सदस्य तथा उच्च अधिकारीहरूले आफ्ना निजी निवास छोडेर सैन्य आधार शिविरहरूमा बस्न थालेका छन्।
उनीहरूले इरानबाट आएका ज्यान मार्ने धम्की र संयुक्त राज्य अमेरिकाभित्र बढ्दै गएको राजनीतिक हिंसालाई यसरी बसाइ सर्नुको कारणका रूपमा उल्लेख गरेका छन्।
यी अधिकारीहरू अहिले सेनाको स्वामित्वमा रहेका घरहरूमा बसिरहेका छन्, जसमध्ये कतिपय एक शताब्दीभन्दा पुराना छन् र यी घरहरू सेनाको कडा सुरक्षा घेराभित्र अवस्थित छन्। यिनीहरूमा विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ र अर्थमन्त्री स्कट बेसेन्ट समावेश छन्।
सीएनएनको एक रिपोर्ट अनुसार वासिङ्टन डी.सी. मा सैन्य आधार शिविरहरू भित्र अधिकारीहरू बसोबास गर्ने चलन पहिलेको तुलनामा निकै बढेको छ। परम्परागत रूपमा यस्ता आवासहरूमा उच्च पदस्थ सैन्य अधिकृत तथा जर्नेलहरू बस्ने गर्थे। यी क्षेत्रमा प्रवेश गर्न सुरक्षा जाँच पार गर्नुपर्छ र सर्वसाधारणका लागि यहाँ प्रवेश निषेध गरिएको छ।
अर्थमन्त्री स्कट बेसेन्टले हालै जर्जटाउनस्थित आफ्नो निवास छोडेर एउटा सैन्य परिसरमा सरेका छन्। सीएनबीसीको एक कार्यक्रममा बोल्दै उनले इरानबाट आफूलाई ज्यान मार्ने धम्की आइरहेकाले आफू अन्यत्र सर्नुपरेको बताए।
बेसेन्ट इरानमाथि आर्थिक दबाब बढाउने र सो मुलुकविरुद्ध कडा प्रतिबन्ध लगाउने प्रयासहरूको अग्रपङ्क्तिमा छन्। उनले इरानी नेताहरूले आफूलाई र ट्रम्प प्रशासनका अन्य अधिकारीहरूलाई धम्की दिइरहेको बताए, तर आफू यस्ता धम्कीबाट विचलित नभएको कुरामा जोड दिए।
स्टिफन मिलरकाे घरबाहिर विरोध प्रदर्शन भए पछि उनी तर्सिएका छन् । जसका कारण गत वर्ष ह्वाइट हाउसका चिफ अफ स्टाफ स्टिफन मिलर र उनकी पत्नी केटी आफ्ना चार छोराछोरीसहित भर्जिनियास्थित आफ्नो घर छोडेर ‘फोर्ट म्याकनेयर’ सैन्य परिसरमा बस्न गए।
यो बसाइँसराइ उनीहरूको घरबाहिर एक महिलाले गरेको विरोध प्रदर्शनपछि भएको थियो; ती महिलाले मिलर परिवारको घरको ठेगाना उल्लेख गरिएका पर्चा समेत बाँडेकी थिइन्। मिलर परिवार केही समयदेखि विभिन्न किसिमका हैरानी वा दुर्व्यवहारको सिकार हुँदै आएको थियो । केही व्यक्तिहरूले उनीहरूको पिछा गर्ने, घरको ठेगाना तथा अन्य व्यक्तिगत विवरण सार्वजनिक गरिदिने र उनीहरूलाई धम्की दिने जस्ता कार्य गरिरहेका थिए।
मिलर ट्रम्पका सबैभन्दा विश्वासपात्र र प्रभावशाली सल्लाहकारहरूमध्ये एक हुन्। उनले इरानविरुद्ध अमेरिका र इजरायलले गरेका आक्रमणको समर्थन गरेका छन्। साथै, उनले इरानमाथि लगाइएको नौसैनिक नाकाबन्दी र प्रतिबन्धको पनि बचाउ गरेका छन्।
रुबियो, हेगसेथ र मिलर हाल एउटै छिमेकमा बस्छन् । विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ र स्टिफन मिलरको परिवार ‘फोर्ट म्याकनेयर’ मा छिमेकी हुन्। त्यहाँ सैनिक अधिकृतहरूका लागि बनाइएका घरहरूको लहरलाई “जेनरलस रो” भनेर चिनिन्छ।
यद्यपि यस सैन्य परिसरभित्र यी अधिकृतहरूको जीवनशैली सामान्य आवासीय क्षेत्रको जस्तै छ। एक पोडकास्टमा रुबियो र उनकी पत्नीले बताएअनुसार उनीहरूको ‘गोल्डेनडुडल’ जातको कुकुर एकपटक झुक्किएर हेगसेथको घरभित्र पसेको थियो। रुबियोले यो पनि उल्लेख गरे कि हेगसेथको बिरालो प्रायः उनीहरूको घरको बरण्डामा बसिरहेको भेटिन्छ।


प्रतिक्रिया