पक्षपाती माली

पक्षपाती माली



सप्तरंगी फूलहरुको बगैचामा
हजारौ रंगका पुतलीको खेल चलिरहेको छ
भँमराहरुको भुभु ध्वनिले
बगैचामा अमृत खोजिरहेको छ ।
फूल सुगन्ध हो, जीवन हो, सौन्दर्य हो ।
पुर्खाहरुले अतीतमा बनाएको बारीमा
पूर्वजहरुले किन हो कुन्नि
फूल बगैचाको रहर गरेका थिए र
हजारौं फूलहरु पmुलेका हुन् ।
केही मालीहरुले बिउ उमारे र
सानो बिरुवामा पानी हाले,
केही मालीहरुले गोड्मेल गरे
केही मालीहरुले माटो र मल मिलाए
केही मालीहरुले घामपानी छेके
धेरैपटकको अनावृष्टि र सुख्खाबाट
अतिवृष्टि र डुबानबाट
अहोरात्र मालीहरुले ननिदाइकन
जोगाएर स्याहार गरेको बगैचा
कति सुन्दर लाग्छ
अनेक पुष्पप्रेमीहरु
प्रतिदिन बगैचामा विचरण गर्छन्
बगैचा दार्शनिकहरुको प्रिय स्थल,
कविभावनाको ऊर्जा
बगैचा साधुहरुको साधनाभूमि
बगैचा तपस्वीहरुको तपोभूमि ।
स्वतन्त्र संवादको,
विशुद्ध स्वासको आनन्दभूमि
प्रेमी प्रेयसीहरुको मन बहलाउने
प्रणयभूमि र
पीडा बिसाउने आधारभूमि ।
पर क्षितीजबाट सूर्य चियाइरहेका छन्,
शीतल जुन रातको सुन्दरता पर्खिरहेका छन्
तारामण्डल सम्मोहित छन्
र सुन्दर बागको पे्रमिल सागरमा
पौडी खेलिरहेका छन् ।
तर आज पुष्पबगैचा शुष्क छ
सुगन्ध रहीत वायुले निरस लाग्छ वगैचा
कविहरुको मन विरक्त छ,
साधुहरुको मन विकर्षित ।
तपस्वीहरु अर्को तपस्थलीको खोजिमा छन्
प्रेमील जोडी नदी किनारतिर परिभ्रमित छन् ।
शीतल जुन र तारामण्डल देखिदैन यता
सूर्यका किरणले हिमाल नाघ्न छाडेका छन्
पुष्परहीत यो बगैचामा भँमराको ध्वनि,
मधुकरको गुनगुन सुनिदैन आजभोलि
श्रीहीन भएको छ बगैचा
मालीलाई मन पर्ने
वासनारहीत गुलाबका केही वोटहरु बाँचेका छन्
माली दंग छ
उसलाई मन पर्ने फूल मात्र छन्
अरु सबै सुकेर गए
नयाँ विऊ छैन, नयाँ विरुवा पनि हुन्नन्
माली एकमात्र मन पर्ने फूल
गुलाबसंग खेल्ने गर्छ
ऊ भन्ने गर्छ र सोच्ने गर्छ :
पुष्पबगैचा आफ्नै लागि मात्रै हो
गुलाब एक मात्रै फूल हो ।
माली पक्षपाती भएको छ आज
फूलबारीसंग शत्रुता गर्न लागेपछि
सुन्दर पुष्प बगैचाको मृत्यु भएको छ ।

२०७९ । जेठ १ । भर्जिनिया