काठमाडौँ। आइसिसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल युएईसँग पराजित भएको छ । मलेसियाको यूकेएम ओभलमा शनिबार नेपाललाई युएईले १० विकेटले हराएको हो । नेपालले दिएको ९ रनको लक्ष्य युएईले १ ओभर १ बलमा बिना विकेटको क्षतिमा ९ रन जोड्दै पूरा गर्यो।
युएईको जितमा थिर्था सतिशले अविजित ४ रन जोडिन । लाभन्या केनी ३ रन अविजित रहिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ ओभर १ बलमा अलआउट हुँदै ८ रन जोडेको हो । इतिहासकै खराब प्रदर्शन गरेको नेपालका लागि स्नेहा महराले ३ तथा मनीषा रानाले अविजित २ रन जोडिन । किरण कुमारी कुँवर, अनु कडायत र आश्मा पुलामी मगरले १-१ रन जोडिन ।
अञ्जलि कुमारी विश्वकर्मा, साना प्रविन, सृष्टि जैसी, कृतिका मरासिनी, रन्जु श्रेष्ठ, अलिशा कुमारी यादव शून्य रनमा आउट भए ।युएईका महिका गौरले ५ विकेट लिईन । इन्धुजा नन्दकुमारले ३ विकेट हात पारिन् । छनोटमा नेपालको यो पहिलो हार हो । शुक्रबार नेपालले कतारलाई ७९ रनले हराएको थियो। युएईको भने यो लगातार दोस्रो जित हो । पहिलो खेलमा युएईले भुटानलाई १ सय ६० रनले हराएको थियो ।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् । अब नेपालले सोमबार भुटानविरुद्ध खेल्नेछ । त्यस्तै मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।
प्रतिक्रिया