बिजुलीको तारमा हिँडिरहेका माइलाको झण्डै ८ घण्टापछि उद्धार

बिजुलीको तारमा हिँडिरहेका माइलाको झण्डै ८ घण्टापछि उद्धार


ग्लोब नेपाल
4.9k
Shares

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रशारण लाइनको तारमा दिनभर हिँडिरहेका युवकलाई नेपाली सेनाले उद्दार गरेको छ । दिनभर अनेक प्रयास गर्दा पनि तारबाट तल झर्न नमानेपछि उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले दिएको जानकारीअनुसार माइलाको उद्धार गरिएको हो । उनी पोलमार्फत् तारमा पुगेका थिए ।

नुवाकोटको ककनी वडा नं ७ मा रहेको ६३ मेगावाटको हाइटेन्सन लाइनमा बेलकोटगढी नगरपालिका १३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक चढेर ओर्लिन मानिरहेका थिएनन् । उनी मानसिकरूपमा अस्वस्थ रहेकाे प्रहरीले जनाएकाे छ ।

विक शनिबार बिहान ११ बजेदेखि २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका थिए । स्थानीयले बिहान ११ बजे बिजुलीको पोलमा चढेको देखेपछि खबर गरेका थिए । त्यसको केहीबेरपछि उनी तारमा झुन्डिएर यता र उता गरिरहेको स्थानीयले बताएका थिए । उनलाई बेलुका ६:३० बजेतिर उद्दार गरि तारबाट तल झारिएको हो । ककनी गाउँपालिकामा अध्यक्ष सुमन तामाङका अनुसार ककनी वडा नम्बर ७ घाँडेफेदीबाट तल झारिएको हो । ‘भर्खरै मोटरमा हालेर लगिएको छ,’ तामाङले भने ।

विक तारमा झण्डै ८ घण्टा हिँड्दा नेपाल विद्युत प्राधिकरणले ८ घण्टा विद्युत उत्पादन बन्द गर्नुपरेको थियो । जसका कारण प्राधिकरणले ८० लाख रुपैयाँ हाराहारी घाटा बेहोर्नुपरेको जनाएको छ । ६३ मेगावाट विद्युत अवरुद्ध भइरहेको छ । त्यसको व्यवस्थापनका लागि केही भारतबाट ल्याइएको छ भने केही औद्योगिक क्षेत्रको लोड कम गरिएको थियाे ।

उद्धारका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, ऊर्जामन्त्री पम्फा भुसाललगायतलाई अनुरोध गरिएको थियाे ।