जीवनभर
स्थापित हुन नपाउँदै
एउटा डेट एक्स्पायर हस्ताक्षर
हाजिर खाताबाट
सधैँका लागि हराइरहेछ !
आफू बस्ने टेबल, कुर्सी
उभिने आफ्नो भुइँ
अनि केही हेरिरहेझैँ
जीवनको धमिलो चित्रभित्र ऊ
आफ्नो खुकुलो कम्मरबाट पाइन्ट
अलि माथि सारेर
सधैँका लागि ओर्लिरहेछ !
घामपानी आँधीबेहेरी केही नभनी
जीवनको कच्ची बाटोमा
साइकलको पाइडल घुमाकै हो उसले
यो राज्यका नाममा
कर्तव्यको भारी बोकेकै हो उसले
तर, आज ऊ
पुरानो मोटरको अशक्त इन्जिन
सधैँका लागि थन्किरहेछ ग्यारेजमा !
हो, उसका शत्रचक्रमा अझै
कलमको मसी लत्पतिएकै छ
उसका प्रत्येक पाइलामा
समयको नदी बगेकै छ
उसले लगाएको धमिलो चस्मामा
कर्मको ज्योति चम्किरहेकै छ
तर, अरूलाई हँसाउँदा–हँसाउदै
उसले कहिल्यै हाँस्न भ्याएन !
उसका योजनाले भलै न्याय पाएनन् होला
पसिनाको मोल भलै उसले पाएन होला
कुनै रङको झण्डा समाएन होला उसले
तैपनि, आफ्नो सीमाना हराउँदा
सडकको सालिकजस्तो मौन बसेन ऊ
हाकिमको एउटै आवाज सुन्नासाथ
खटिरह्यो मेसिनजस्तो निरन्तर
उसको अभावमा कार्यालयमा ताला लाग्थ्यो
सडकमा दनदनी आगो सल्किन्थ्यो !
हो, आज उही व्यक्ति
भेट्नाबाट छुट्टिएको
एउटा पतिङ्गर
जागिरको अन्तिम हस्ताक्षरसँगै
गन्तव्य खोज्दै छ !
प्रतिक्रिया