काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीले सिफारिस गरेका पठाएका नयाँ मन्त्रीको शपथ आईतबार (आज) सम्म नभए प्रधानमन्त्रीविरुद्ध गम्भीर कदम चाल्नुपर्ने बताएका छन्।
आइतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका सम्मानित नेता खनालले अब पनि मन्त्रिमण्डल हेरफेर नगरेमा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध गम्भीर कदम चाल्नु बाहेकको विकल्प नभएको चेतावनी दिए । ‘नयाँ मन्त्रीले सकेसम्म आज शपथ खानुपर्छ। प्रधानमन्त्रीले आज कदम चाल्नुपर्छ, उनले चेतावनी दिदैँ भने, आजपनि कदम चाल्नु भएन, ढिला भयो भने प्रधानमन्त्रीको बारेमा पनि हामीले के गर्नुपर्ने भन्ने सोच्नुपर्छ।’
नेता खनालले प्रधानमन्त्री देउवाले आज मन्त्रिमण्डल हेरफेर गर्नुपर्ने र सचिवालय बैठकले गरेको निर्णयलाई अस्वीकार गरे गम्भीर कदम चाल्ने चेतावनी दिदै भने, ‘सचिवालयले निर्णय गरेको छ, स्थायी कमिटीले निर्णय गरेको छ। पोलिटब्यूरोले निर्णय गरेको छ, केन्द्रीय कमिटीले निर्णय गरेको छ, यी सबै कुरालाई अस्वीकार गर्ने हो भने हामीले थप गम्भीर कदम चाल्नु बाहेक अर्को विकल्प छैन ।’
पार्टीले गरेको निर्णय एकैपटक कार्यान्वयन हुने पनि खनालले बताए । उनले भने, ‘हामीले निर्णय गरिसकेका छौँ। एकैपटक कार्यान्वयन हुन्छ, कार्यान्वयन जसले गर्नुहुन्छ, धन्यवाद दिन्छौँ, कार्यान्वयन नगर्नेलाई पार्टीले विधान बमोजिम कारबाही गर्छ।’


प्रतिक्रिया