अरूमाथि भरोसा गरेर हुदैन, निर्वाचनको तयारी आफैं गर्ने हो: माधव नेपाल

अरूमाथि भरोसा गरेर हुदैन, निर्वाचनको तयारी आफैं गर्ने हो: माधव नेपाल


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका नेता र कार्यकर्ताहरूलाई सम्पूर्ण ध्यान आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा लगाउन निर्देशन दिएका छन् ।

सोमवारबाट काठमाडौंमा शुरू भएको केन्द्रीय परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उनले अरुको भर नपरी सम्पूर्ण शक्तिका साथ निर्वाचनको तयारीमा लाग्न निर्देशन दिए । ‘अरूमाथि भरोसा गरेर चल्ने होइन, आफैैं तयारी गर्ने हो,’ उनले भने, ‘१६५ संघीय र ३३० वटै प्रदेश सभा सदस्यका लागि ठोस् जिम्मेवारी दिनैपर्छ । तयारी अहिलेदेखि नै गर्नुपर्छ ।’

नेपालले वडा तहसम्म पार्टी विस्तार गर्नका लागि लाग्न पनि निर्देशन दिए । प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा अहिलेदेखि नै सम्भावित उम्मेदवार खडा गरेर काम थाल्न नेपालले कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

उनले सातवटै प्रदेश सभाका निर्वाचन क्षेत्रमा पनि उम्मेदवार तयार पार्न भनेका छन् । स्थानीय तह निर्वाचनबाट ६० प्रतिशत वडामा पार्टी संगठन पुगेको दाबी गर्दै नेपालले अबको निर्वाचनसम्म सबै स्थानीय तह र पालिकामा संगठन विस्तार गर्नुपर्ने बताए।