सडक बालबालिकालाई भारत लगेर मिर्गौला बेचेको आरोपमा ५ जना पक्राउ

सडक बालबालिकालाई भारत लगेर मिर्गौला बेचेको आरोपमा ५ जना पक्राउ


ग्लोब नेपाल
324
Shares

काठमाडौं । मिर्गौला बेचबिखनमा संलग्न रहेको अरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

शरीरमा दुईवटा मिर्गौलामध्ये एउटा बेच्दा केही नहुने र ५ लाखसम्म कमाइ हुने लोभ देखाएर बालबालिकालाई भारत लैजान ठिक्क पारेको सूचनाको आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका धुपेन्द्र शाही र बिमलबहादुर शाही तथा झापाका आशिष तामाङ छन् ।

उनीहरूले समूह समूह बनाइ कसैले काठमाडौंको सडक पेटीमा बालबालिकासँग चिनजान गरी मिर्गौला बिक्रीका लागि विभिन्न लोभ देखाउने, कसैले मिर्गौला ग्रहणकर्ता खोज्ने र काठमाडौंका पोलिक्लिनिकमा मिर्गौला दाताले गर्नुपर्ने रगत जाँच गराई भारतको कोलकत्ता लैजाने गरेको अनुसन्धानबाट खुलेको छ ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार विमल शाही र धनबहादुरले आफू भारत गएर मिर्गौला बिक्री गरेर आएको अनुसन्धानबाट खुलेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको र उनीहरुलाई मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ अनुसार कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।