आक्रमणबाट घाइते बनेका रूश्दीको उपचार जारी

आक्रमणबाट घाइते बनेका रूश्दीको उपचार जारी

एउटा आँखाको दृष्टि गुम्‍नसक्ने



न्युयोर्क राज्यको एक साहित्यिक कार्यक्रममा छुरा प्रहारपछि घाइते भएका विश्व प्रसिद्ध साहित्यकार सलमान रूश्दीको भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको छ । उनका सहयोगीले द न्युयोर्क टाइम्स’लाई दिएको जानकारीमा साहित्यकारमाथिको आक्रमण गलत भएको बताइएको छ ।

सहयोगी एन्ड्रयु वाइलीले भने, “सलमानको एउटा आँखा गुम्ने सम्भावना छ । उनको पाखुराका नसाहरू काटिएका छन् र उनको कलेजोमा छुरा प्रहारबाट क्षति पुगेको छ । रूश्दी बोल्न नसक्ने अवस्थामा उपचाररत छन् ।”

सन् १९८८ मा प्रकाशित द स्याटानिक भर्सेज’ नामक कृतिले मुसलमान समुदाय र प्रोफेट मोहम्मदको अपमान गरेको आरोप लगाउँदै तत्कालिन इरानी सर्वोच्च नेता आयातोल्ला रूहोल्ला खोमेनीले फतवा जारी गरी हत्या गर्ने आदेश दिएका थिए ।

निजी सुरक्षाका कारण आक्रमण हुनसक्ने त्रासका कारण वर्षौंसम्म भूमिगत जीवन बिताउँदै आएका सलमान रूश्दी र उनका सहयोगीमाथि शुक्रबार न्युयोर्कमा आक्रमण भएको थियो ।

आक्रमण पश्चात हेलिकोप्टरमार्फत अस्पताल पुर्‍याइएका विश्व प्रसिद्ध साहित्यकार रूश्दीलाई अस्पताल लगी आकस्मिक शल्यक्रिया गरिएको छ । उनको उपचारमा सम्लग्न चिकित्सकका अनुसार उनी अहिले बोल्न सक्ने अवस्था छैनन् र उनको एउटा आँखाको ज्याति गुम्न पनि सक्ने देखिएको छ ।

साहित्यिक कार्यक्रममा भाग लिइरहेका अमेरिकी विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक कार्ल लेभानले एएफपीलाई बताएअनुसार आक्रमणकारी रूश्दी बसेको मञ्चमा पुगी पटक–पटक र निर्मम तरिकाले छुरा प्रहार गरेका थिए ।

कार्यक्रममा उपस्थित एक सैनिकले आक्रमणकारीलाई पक्राउ गर्नुअघि कैयौँ मानिस दौडेर स्टेजमा पुगेर आक्रमणकारीलाई भुइँमा लगेका थिए । श्रोताहरूमध्ये कै एक चिकित्सकले उनको प्राथमिक उपचारमा सघाएका थिए ।

न्यूयोर्क राज्यको प्रहरीले आक्रमणकारी न्यूजर्सीको फेयरफिल्डका २४ वर्षीय हादी मटर भएको र उनले रूश्दीको घाँटी र पेटमा छुरा प्रहार गरेको जनाएको छ । छुरा प्रहारको कारण भने खुल्न सकेको छैन ।

स्टेजमा रूश्दीको अन्तवार्ता लिइरहेका ७३ वर्षीय राल्फ हेनरी रीजको अनुहारमा पनि चोट लागेको थियो तर उहाँलाई सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । बफेलो शहरबाट ७० माइल (११० किलोमिटर) दक्षिणमा रहेको शान्त लेकसाइड समुदायमा साहित्यक कार्यक्रम सञ्चालन गर्ने चौटौक्वा इन्स्टिच्युटमा आक्रमण भएको हो ।

चौटौक्वा इन्स्टिच्युटले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीमध्ये धेरैले आज जे देखेका छौं, त्यो घृणाको हिंसात्मक अभिव्यक्ति हो जसले हामीलाई तर्साएको छ ।”

चाउटाउक्वाका नियमित सहभागी सदस्य लेभानले भने, “शंकास्पद व्यक्तिले रूश्दीलाई मार्न खोज्नुभन्दा पहिले उनलाई सकेसम्म धेरै पटक छुरा हान्ने कोसिस गरिरहेका थिए ।

आक्रमणकारीलाई हत्या प्रयासको अभियोग
अमेरिकामा शुक्रबार एक कार्यक्रममा चर्चित उपन्यासकार सलमान रुस्दीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई हत्या प्रयासको अभियोग लगाइएको छ । आरोपित हाडी मटरलाई हत्या प्रयासको अभियोग लगाइएको न्युयोर्क राज्यको चौताउवा काउन्टीका अभियोजकले बताए । मटरलाई कार्यक्रममा मञ्चमा दौडिएर रुस्दी र एक अन्तर्वार्ताकारलाई आक्रमण गरेको आरोप लगाइएको छ ।