काठमाडौं । सुन्धारास्थित काठमाडौं मलको भवन नक्सा पासविनै बनाएको पाइएको छ । मल काठमाडौं महानगरपालिकाबाट नक्सा पास नै नगरी निर्माण भएको पाइएको हो । काठमाडौं महानगरले बुधबार मात्र अलअगाडिका अवैध संरचना डोजर लगाएर भत्काएको थियो ।
महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार भवन निर्माण हुने बेला दुई तलामा पार्किङ गर्ने भनी नक्सा पासका लागि पठाइएको थियो । ‘तर, सो नक्सा पास हुन सकेन । त्यसपछि मल सञ्चालकले दुई तलामा पार्किङ प्रयोजन गर्नुपर्ने कुरालाई सच्याएर एक तलामात्रै पार्किङ प्रयोजनमा ल्याउने भन्दै महानगरमा संशोधन पठाएको थियो,’ उनले भने, ‘एक तलामा मात्रै पार्किङ गर्ने भन्ने नक्सा पास पनि महानगरबाट भएन ।’
कर्मचारी सञ्चय कोषको उक्त भवनमा नक्सा पास, भवन निर्माण इजजात र पार्किङ नै नभएको पाइएपछि आईतबार (आज) महानगर र कोष दुई पक्ष बसेर छलफल भएको छ । पुल्चोकस्थित केन्द्रीय कार्यालयमा कोषसँग छलफल भएको बताउँदै नगर प्रहरीका प्रमुख (उपरीक्षक) राजु पाण्डेले कोषले पार्किङका लागि भवन खुला गराउन सहमति जनाएको बताए ।
उनले भने, ‘आज दुई पक्षबीच छलफल भएको छ । सञ्चय कोषले सञ्चालमा ल्याएको काठमाडौं मलको नक्सा पास, भवन निर्माण इजाजत र पार्किङ विषयमा छलफल भयो । सुरूमा मलले भवनमा पार्किङको व्यवस्था गर्ने बताएको छ ।’
दुई तला पार्किङ खुला गर्ने र त्यसपछि महानगरले नक्सा पास र भवन इजाजतको अनुमतिको लागि प्रक्रिया थाल्ने सहमति भएको पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया