पशुपति क्षेत्रबाट १४ जर्किन रक्सी बरामद

पशुपति क्षेत्रबाट १४ जर्किन रक्सी बरामद


ग्लोब नेपाल
135
Shares

काठमाडौं । तीजको पूर्वसन्ध्यामा पशुपति क्षेत्रका पसल अनुगमन गरी १४ जर्किन रक्सी बरामद गरिएको छ । प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक सञ्जीवबहादुर खड्काको नेतृत्वमा अनुगमन गरी स्थानीयरूपमा बनाइएका १४ जर्किन रक्सी बरामद गरिएको कोषले जनाएको छ । जयबागेश्वरी ओरालोबाट भुवनेश्वरी मन्दिर जाने बाटोका केही पसलबाट रक्सी बरामद गरिएको हो ।

पर्वका अवसरमा मदिरापान गरी शान्ति सुरक्षामा प्रभाव पार्न सक्ने भएकाले आज अनुगमन गरिएको कोषले जनाएको छ । कोषले पशुपति क्षेत्रमा तीजको सबै तयारी गरेको छ । मूल मन्दिरअघि फूलले सिँगारिने भएको छ ।

मूल मन्दिरमा तस्बिर खिचेमा रु दुई हजार १०० जरिवाना
हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ । पशुपतिनाथको मूल मन्दिरभित्र प्राचीनकालदेखि नै तस्बिर खिच्न मनाही गरिँदै आएको छ ।

पछिल्लो समय सबैका हातमा मोबाइल फोन हुने भएकाले चलाएजसरी तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही गर्न लागिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।

सनातनदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो तयारी गरेको हो । गर्भगृहको तस्बिर खिचेमा रु दुई हजार १००, मुख्य मन्दिरको तस्बिर खिचेमा रु एक हजार १०० र मूल मन्दिर परिसरको तस्बिर खिचेमा रु ५०० जरिवाना गर्न लागिएको हो ।

पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्बिर खिचे नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सूक्ष्म अनुगमन गर्न लागेको जानकारीसमेत उनले दिए ।

कोषले तीजका दिन यही भदौ १४ गते बिहान छ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने भएको छ । पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आह्वान गरेको छ ।

दर्शनार्थी बिरामी हुन सक्ने भएकाले मूल मन्दिर क्षेत्रमै नेपाली सेनाले स्वास्थ्य शिविर राख्ने भएको छ । पशुपति क्षेत्रको सुरक्षाका लागि सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयोजनमा गर्ने गरी व्यवस्था मिलाइएको छ ।