केन्याविरुद्ध नेपालको क्लिन स्वीप

केन्याविरुद्ध नेपालको क्लिन स्वीप


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । नेपालले घरेलु टोली केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्वीप गरेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले सिरिज ३-० ले जितेको हो । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको २ सय ५६ रनको लक्ष्य नेपालले ४७ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।

यससँगै नेपालले केन्याविरुद्धको दुबै सिरिज आफ्नो बनाएको छ । नेपालले यस अघि पाँच खेलको टी-२० अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।

नेपालको जितमा अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धशतकीय इनिङ खेले । अर्जुनले ५८ तथा आसिफले ५६ रन बनाए । वसिर ५२ रनमा अविजित रहे । यस्तै कप्तान रोहित पौडेलले अविजित रहदै ४६ रन बनाए । ज्ञानेन्द्र मल्ल ३३ रनमा आउट हुँदा देव खनाल एक रनमा आउट भए ।

केन्याका भिराज पटेलले २ तथा शेम एनगोचे र याश तालातीले १-१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनाएको थियो । केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै लुकास एनडानडासनले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ खेले । सुखदिप सिंहले ३७ रन जोड्दा इमानुएल बुन्डीले २३ रन बनाए । कप्तान शेम एनगोचे १७ रनमा आउट भए । नेपालका सोमपाल कामी र आदील अन्सारीले २-२ विकेट लिए ।

वसिर अहमद र शाहब आलमले १-१ विकेट लिए । सिरिज अन्तर्गत कै पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।