मैले अध्यक्ष बनाएर छेउमा राखेँ, प्रचण्डले त ग्वाम्म छुरी रोपे: ओली

मैले अध्यक्ष बनाएर छेउमा राखेँ, प्रचण्डले त ग्वाम्म छुरी रोपे: ओली


ग्लोब नेपाल
594
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले देश बनाउने उद्देश्यले गरेको पार्टी एकतामा प्रचण्डले घात गरेको टिप्पणी गरेका छन् ।

प्रचण्डको गृहजिल्ला चितवनका सहइन्चार्ज तथा माओवादी केन्द्रीय सदस्य यमबहादुर परियारलगायतलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले आफूले देश बनाउने उद्देश्यले गरेको पार्टी एकतामा प्रचण्डले घात गरेपछि नयाँ ढंगले पार्टी अघि बढेको बताए । उनले अहिलेको एमाले प्रचण्ड गुटबाहेकको नेकपाकै निरन्तरता रहेको भएको पनि दाबी गरे । पार्टी एकताका लागि आफूले दिएको संख्यालाई प्रचण्डले बहुमत जुटाएर आफैंलाई हटाउन खोजेको ओलीले बताए ।

ओलीले प्रचण्डलाई आफुले सम्मानपूर्वक आफ्नै सिट छेउमा राखेपनि उनले ग्वाम्मै छुरी रोपेको टिप्पणी गरे । ‘प्रचण्डको एउटा भिडियो हेर्नुभयो होला नि ! मैले त केपी ओलीलाई सदस्यबाट पनि निकालेको थिएँ भन्ने’, ओलीले भने, ‘निकालेकै हो । मैले प्रचण्डलाई आउनुस् मित्र एकीकृत पार्टी बनाऔं, बलियो वामपन्थी कम्युनिस्ट पार्टी बनाऔं, समाजवादतर्फ एकतावद्ध भएर अगाडि बढौ भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ ।’

अध्यक्ष ओलीले आफुले प्रचण्डको हात समाए पनि उनले लुकाउने गरेको स्मरण गरे । उनले भने, ‘प्रचण्डलाई मैले मान सम्मानपूर्वक मेरो छेउमा राखेको थिएँ । एकतावद्ध भएर जाऔं भनेर मैले हात मिलाएको मात्रै होइन, अंगालो हालेको थिएँ । तर प्रचण्ड हात लुकाइलुकाइ हिँड्थे, म अलिअलि होसियार त थिएँ । नभन्दै मैले अँगालो मार्ने प्रचण्डले ग्वाम्मै छुरी रोपे ।’

ओलीले पार्टी सदस्यबाटै निकालेको भनेर प्रचण्डले गर्व गरेको पनि बताए । ‘म एकता भन्ने प्रचण्ड मलाई साधारण सदस्यबाटै निकाल्ने कस्तो विषालु दाँत पालेर बसेको रहेछ ’, ओलीले प्रश्न गर्दै भने, ‘कस्तोसँग एकता गरेको रहेछु ? मैले दिएको बरदान मेरै टाउकोमा राखेर भष्म पार्न खोज्ने ? त्यसरी हुन्छ आन्दोलन ?’

उनले गठबन्धनले देशलाई हरेक हिसावले अधोपतनतिर लगेको भन्दै यसबाट बचाउन एमालेबाहेक अरुले नसक्ने पनि बताए । उनले एमालेलाई हराउन सजिलो नभएकाले गठबन्धन गर्नुपरेको र अदालतसमेत जानुपरेको भन्दै अभिमन्युलाई चक्रव्यूहमा पारेजस्तै एमालेलाई पार्न खोजेपनि नसक्ने बताए ।