काठमाडौं । चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो महिनामा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स (विप्रेषण आप्रवाह) नेपाल आएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा भन्दा यो वर्ष रेमिट्यान्स २०.३ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.४ प्रतिशतले घटेको थियो। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो।
विनिमय सञ्चिति १.५ प्रतिशतले घट्यो
यस्तै राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा कुल विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले घटेको जनाएको छ ।
२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले कमी आई २०७९ साउन मसान्तमा ११ खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँ कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ साउन मसान्तमा १.२ प्रतिशतले कमी आई ९ अर्ब ४२ करोड कायम भएको राष्ट्र बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ साउन मसान्तमा ०.७ प्रतिशतले कमी आई १० खर्ब ४९ अर्ब ११ करोड कायम भएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ साउन मसान्तमा ६.७ प्रतिशतले कमी आई १ खर्ब ४८ अर्ब ७४ करोड कायम भएको छ ।
२०७९ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।
चालु खाता १६ अर्ब २६ करोडले घाटामा
राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा चालु खाता १६ अर्ब २६ करोडले घाटामा रहेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४७ अर्ब २९ करोड रुपैयाँले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३९ करोड ७४ लाखले घाटामा रहेको चालु खाता साउन महिनामा १२ करोड ७७ लाखले घाटामा रहेको राष्ट्र बैंकले आज जारी एक विज्ञप्तिमा उल्लेख छ ।
गत साउन महिनामा पुँजीगत ट्रान्सफर १७.७ प्रतिशतले वृद्धि भई ८० करोड ३ लाख रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४० करोड रुपैयाँले ऋणात्मक रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६७ करोड ९७ लाख रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ४८ करोड ६ लाख रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको साउनमा शोधनान्तर स्थिति २२ अर्ब ६३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोड रुपैयाँले घाटामा रहेको थियो ।
प्रतिक्रिया