टुकुचा मिचेर बनेका संरचना नभत्काउन उच्च अदालत पाटनको आदेश

टुकुचा मिचेर बनेका संरचना नभत्काउन उच्च अदालत पाटनको आदेश


ग्लोब नेपाल
81
Shares

काठमाडौं । उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।

आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी रित नपुर्‍याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।

काठमाडौं महानगरपालिकाले हराएको टुकुचा खोला खोज्दै त्यसमाथि बनाएका संरचनाहरु भत्काउने तयारी गरेपछि उच्च अदालत पाटनले आइतबार उक्त आदेश गरेको हो । अदालतले असोज ५ गते दुवै पक्षलाई राखेर छलफल गरेपछि अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा छलफल हुने रजिस्ट्रार कट्टेलले जानकारी दिए

टुकुचालाई भूमिगत बनाइएको ठाउँमाथि बनेका संरचना नभत्काउन माग गर्दै भदौ ३१ गते पाटन उच्च अदालतमा रिट दर्ता भएको थियो । तीनवटा कम्पनीले काठमाडौं महानगरपालिकालाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए । प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स, जेनेक्स इनभेस्टमेन्ट प्रालीसहितका तीन कम्पनीले संयुक्तरुपमा रिट दर्ता गरेका हुन् ।