पद गइसकेको व्यक्तिलाई सभामुखको आसनमा बस्ने कुनै अधिकार छैनः योगेश भट्टराई

पद गइसकेको व्यक्तिलाई सभामुखको आसनमा बस्ने कुनै अधिकार छैनः योगेश भट्टराई


ग्लोब नेपाल
81
Shares

बाँके । नेकपा एमालेका सचिव योगेश भट्टराईले सभामुखको पद समाप्त भएको बताएका छन्।

शुक्रबार प्रेस चौतारी बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा सचिव भट्टराईले प्रतिनिधि सभाको आयु सकिएसँगै सभामुखको पद स्वतः समाप्त भएको भन्दै अब अग्निप्रसाद सापकोटाले पदमा बसिरहनु लज्जाको विषय भएको टिप्पणी गरे। ‘हाम्रो पद जाने, उहाँको पद नजाने कसरी हुन्छ ? म अहिले प्रतिनिधि सभाको सदस्य होइन’, उनले भने, ‘अनि उहाँ चाही कसरी सभामुख हुन सक्नुहुन्छ ?’,

भट्टराईले २०४७ सालको संविधानमा सांसद्को आयु सकिए पनि सभामुखको पद रहने व्यवस्था भए पनि वर्तमान संविधानले त्यस्तो व्यवस्था नगरेको दाबी गरे। उनले सभामुख सापकोटाले संविधान मिच्ने काम गरिरहेको आरोप लगाए। ‘पद गइसकेको व्यक्तिलाई सभामुखको आसनमा बस्ने कुनै अधिकार छैन’, उनले भने।

यस्तै नेता भट्टराईले नागरिकता विधेयकको विषयमा मुलुकलाई विभाजित गर्ने काम भइरहेको बताए। विधेयकका विषयमा फरक–फरक मत र तर्क आइरहेको भन्दै नेता भट्टराईले भने, ‘यो विधेयकले मुलुकलाई नै विभाजित गर्ने काम भइरहेको छ।’ उनले आगामी निर्वाचनपछि प्रतिनिधि सभाले नागरिकता विधेयकलाई नयाँ ढंगले अघि बढाउने पनि बताए।

उनले संविधानभन्दा माथि राष्ट्रपति पद नहुने बताए। तर, राष्ट्रपतिबाट राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने काम भएको भट्टराईले दाबी गरे।