आप्रवासीहरुको अत्यधिक आगमनले न्यूयोर्कमा आपतकाल

आप्रवासीहरुको अत्यधिक आगमनले न्यूयोर्कमा आपतकाल



न्यूयोर्क । आप्रवासीहरुको अत्यधिक आगमन हुँदै गएपछि अमेरिकाको व्यापारिक नगरी मानिएको न्यूयोर्क शहरमा आपतकालको घोषणा गरिएको छ ।

शहरका प्रमुखले पछिल्लो ६ महिनाको अवधिका मात्रै १७ हजार बढी आप्रवासीहरु न्यूयोर्क पुगेको र उनीहरुको शान्ति सुरक्षा र उचित वासको प्रबन्ध अहिले ठूलो चूनौती बनिरहेको बताउनुभएको छ ।

आपतकाल घोषणा सम्वन्धमा आयोजित पत्रकार सम्मेलनमा न्यूयोर्कका प्रमुख यरिक एडम्सले शहरको आवास केन्द्रहरुमा प्रत्येक पाँच जनामा एक जना आप्रवासी रहेको बताउनुभएको छ । उहाँले आप्रवासीहरुका कारण यस वर्ष मात्रै थप एक अर्ब डलर बढी खर्च आवश्यक परेको भन्दै शान्ति, सुरक्षा र वासको प्रवन्धका लागि संघीय सरकारसँग वजेट पनि माग गर्नुभएको छ ।

रिपब्लिकन दलले जित हासिल गरेका टेक्सस, फ्लोरिडा लगायतका राज्यहरुले डेमोक्र्याटको नेतृत्व पाएको राज्य र शहरहरुमा आप्रवासीहरुलाई पठाउने गरेको विविसीले उल्लेख गरेको छ ।

बाइडनले सत्ता सम्हाले यता ट्रम्प प्रशासनले गरेको आप्रवासी आगमनको कडाइमा अमेरिकाले लचिलो नीति लिएको छ । त्यसयता मेक्सिको लगायत मुलुकहरुबाट सुरक्षित आप्रवासको खोजीमा धेरै आप्रवासी अमेरिका छरेका छन् ।