मंसिर ४ गते हुने निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना उम्मेदवार प्रस्तुत गरेका छन् । स्वतन्त्र रुपमा पनि धेरै व्यक्तिहरुले आफ्नो उम्मेदवारी दर्ता गरेको भन्ने समाचार आएको छ । दलका मठाधीशहरुले आफ्ना अनुकूलका पात्रहरुको छनोट गरेको प्रति आम असन्तुष्टि व्यक्त भएको छ । सम्भावना भएका, संसदमा प्रभावकारी भूमिका खेल्न सक्ने, विषयवस्तुको ज्ञान भएका, इमान्दार र राय बझाउन सक्ने व्यक्तिहरुलाई उम्मेदवार बन्नैबाट रोकिएको छ । नेपाली कांग्रेसले मिनेन्द्र रिजाल, महेश आचार्य, स्वर्णिम वाग्ले, गोविन्दराज पोखरेलजस्ता व्यक्तिहरुलाई पाखा लगाएको छ भने एमालेले भीम रावल र घनश्याम भुषालहरुलाई किनारामा पु-याएको छ । नेकपा माओवादीको पनि त्यस्तै हालत हो भन्ने जानकारहरु बताउँछन् ।
नेतृत्व तहमा भएका व्यक्तिहरुको रुचि दशैंमा खोजिने जखमले खसीजस्तै जखमले उम्मेदवारप्रति देखियो, जोसँग प्रशस्त खर्च गर्न सक्ने, दिन सक्ने, किन्न सक्ने र बद्मासी गर्न सक्ने क्षमता छ, उसलाई उच्च प्राथमिकतामा राखेको देखियो । सामान्य र सक्षम व्यक्ति नेतृत्वको रोजाइमा परेन । आफ्नो गुटको अनुचरलाई प्राथमिकतामा राख्ने श्रीमति, छोरा, छोरी, व्यापारी, ठेकेदार र डन प्रिय हुने रोगबाट मुक्त हुन त परै जाओस् उपचार गरेर रोग नियन्त्रण गर्नेसम्म आवश्यकता महसुस भएन । व्यवसायको रुपमा फस्टाएको आकर्षक व्यापारको रुपमा आय आर्जनको सजिलो पेशा पो बन्न गएको छ– राजनीति । त्यस्तै मन, मस्तिष्क र चाहाना भएका व्यक्तिहरुको लागि उपयुक्त ‘पेशा’ बन्दै गएको भाष्य निर्माण गरेको छ । त्यसबाट माथि उठ्ने प्रयास ‘नेतातन्त्र’ को रुपमा विकास भएको हाम्रो लोकतान्त्रिक व्यवस्थाले गर्न नै सकेन ।
अझ गठबन्धनको आडमा आफूसँग असहमति राख्ने व्यक्तिहरुको तेजोबध सिट बाँडफाँडमा नै गरियो । लामो समयदेखि आफूलाई सहयोग गर्दै आएको ‘साथी’ भन्दा प्यारो गठबन्धनको विचार नमिल्ने दल र व्यक्ति हुन गयो । आफ्ना लागि मात्र अनुकूल हुने ‘तन्त्र’ नेपालको नेतातन्त्रले गरेको अभ्यासमा प्रभावकारी देखियो । सामान्य लोकलाजसम्म देखाएन नेपालको ‘नेतातन्त्र’ ले । यो क्षेत्र प्रतिकूल होला जस्तो लाग्यो भने अर्को क्षेत्र खोज्ने र आफ्नो सान्दर्भिकता कायम राख्नेभन्दा टाढा नदेख्ने मन मस्तिष्क र आँखा (दृष्टि) को रोगबाट पनि संक्रमित भएको देखियो ।
कयौं निर्वाचन क्षेत्रमा आफूले रुचाएको दललाई मतदान गर्नबाट नै मतदाता बन्चित भएका छन् । कांग्रेसका नेता तथा कार्यकर्ताले कांग्रेसको रुख पाएका छैनन् । एमालेकाले सूर्य पाएनन अन्यले अरु पाएनन् । स्वतन्त्र उम्मेदवारी व्यापक परेको देखियो । असहमति जाहेर गरेका अनगिन्ती दृष्टान्तहरु प्रस्तुत भएका छन् । नेतृत्वको चरम आलोचना भएको छ । सघर्षबाटै आएको नेतृत्वकिन यति धेरै चरम अवसरवादी भएको हो । सुखभोग, सम्पन्नता किन अधिक चाहिएको भन्ने अनुमान लगाउन समेत नसक्ने अवस्था आएको छ । कसैले छोरीका लागि उम्मेदवारी त्यागेको देखियो भने कसैले परिवारका लागि । तर व्याख्या नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहेको भन्ने ढंगले गरिएको छ । खरिद बिक्री, व्यापार, किनबेच भएको उम्मेदवारले भोलि गर्न सक्ने नै के हो र ? यसले त शासन व्यवस्थालाई नै असफल बनाउँछ । प्रश्न उठाउनेहरुलाई प्रशस्त ठाउँ दिएर गरिएको निर्णय वा कार्यले ल्याउने परिणाम फरक हुन्छ भन्ने नै छैन ।
मतदातामा उत्साह छैन, आक्रोस र असन्तुष्टि छ । अहिले राजनीतिमा फस्टाएको र आकर्षित भएको पात्र र प्रवृत्तिले खोजेको परिवर्तन ल्याउन सक्दैन । साँच्चै सेवाभाव भएको राजनीतिले मात्र उत्साह बढाउँछ ।
तीस वर्षदेखि सत्तामा रहेर वा नरहेर राजनीतिको केन्द्रमा रहेका व्यक्तिहरुले मंसिर ४ मा निर्वाचित भएर गर्छन नै के ? उनीहरुको कार्यसूचिमा फेरबदल ल्याउने, हेरफेर गर्ने कुनै योजना र कार्यक्रम नै छैन । भोलिको राष्ट्रपति वा प्रधानमन्त्री वा मन्त्री भनेर जनताको मन जित्न सकिन्छ भने भ्रम पालेर निर्वाचनमा होमिएको देखिन्छ । आफ्नो औचित्य र आवश्यकता पुष्टि गर्न नसक्ने कारोबारीहरुबाट खास अपेक्षा राख्नु नै मुर्खता हो । चाकरीबाज र अवसरवादीहरुका लागि मात्र उर्बरभूमि बनेको यहाँको राजनीति त्यसलाई दलाल, तस्बर, माफिया, व्यापारी, ठेकेदार र डनहरुले व्यवस्थापन गरेका छन् । आँखा अगाडि खुलेआम लुटेराहरुलाई कसरी मतदान गर्नु ?
बल्लातल्ल अरु कसैले लेखिदिएर, चोरेर सारेर म्याट्रिक गरेको सहपाठीलाई जिन्दगीभर मेहनत गरेको एउटा योग्य, स्वाभिमानी र सक्षम व्यक्तिले कसरी मतदान गर्न सक्छ ? कुनै पेशा व्यवसाय र काम नगरी आलिसान महल बनाएको, महँगो गाडी चढेको, सम्पन्नताको जीवन बिताएको उम्मेदवारलाई दिनहुँ काममा लाग्दा, मेहनत गर्दा, व्यापार व्यवसाय र पेशा गर्दा बिहान बेलुका हातमुख जोड्न धौधौ परेको, छोराछोरीको शिक्षादीक्षामा ध्यान दिन नसकेको, बा–आमाहरुको स्वास्थ्य परीक्षण गराउन नसकेको, बेरोजगार बनेको, विदेशिएको सस्तो श्रम बजारमा बेचिएका बहादुर कहलाएका व्यक्तिहरुले कुन मन र आँटले के आशा, अपेक्षा र भरोसाले मत प्रदान गर्ने ?
शिक्षा र स्वास्थ्यलाई व्यापारिकरण गरी सामान्य मानिसको पहुँचबाहिर बनाउने र त्यस्तै संस्थाहरुमा लगानी गरी अकूत सम्पत्ति कमाउने, त्यस्ता संस्थाहरुसँग चन्दा लिएर चुनाव लड्ने, सरकारी अस्पताल र शिक्षण संस्थालाई धरासायी बनाइ महँगो बनाउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने, सहभागी बन्ने व्यक्तिहरुलाई कसरी आफ्नो प्रतिनिधि बनाउन सकिएला ? सीमित व्यक्तिहरुको स्वार्थ पूरा गराउनको लागि बनाइएको यो वा त्यो गठबन्धनलाई के कुन आधारमा ठीक वा बेठीक छुट्याएर आफ्नो अभिमत जाहेर गर्न सकिएला ? भन्ने अनगिन्ती प्रश्नहरु हाम्रा अगाडि खडा भएका छन् । यसको जवाफ दिनुपर्छ भन्ने सामान्य चेतना र विवेकको समेत अभाव खडकिरहेको घडीमा आम मतदाता किमकर्तव्यबिमुड हुनु स्वभाविक नै हो । त्यसैले पनि होला मतदाताहरुको एउटै आवाज छ– यिनीहरुले हिजो, आज के गरे ? भोलि के गर्छन् र मत दिनु !!?
नेतृत्व यति धेरै आफूकेन्द्रित भयो कि आफ्नो नाकभन्दा टाढा देख्न सकेन, हेर्नुपर्छ भन्ने ज्ञान नै भएन । हामी दुईचार जना मिलेपछि जे जे गरे पनि हुन्छ भन्ने दम्भ देखियो । जसको कारण राणा, पञ्चायत, राजा ज–जसलाई फ्याके पनि वास्तविक रुपमा जनताले खोजेको, चाहेको र सोचेको परिवर्तन भएन । नेताहरुको परिवर्तन भयो तर, आम मानिसको दैनिकीमा परिवर्तन आउन सकेन । त्यसैले मतदातामा उत्साह छैन, आक्रोस र असन्तुष्टि छ । अहिले राजनीतिमा फस्टाएको र आकर्षित भएको पात्र र प्रवृत्तिले खोजेको परिवर्तन ल्याउन सक्दैन । साँच्चै सेवाभाव भएको राजनीतिले मात्र उत्साह बढाउँछ ।
प्रतिक्रिया