दश निर्माण व्यवसायी चुनावी मैदानमा

दश निर्माण व्यवसायी चुनावी मैदानमा



काठमाडौं । निर्माण व्यवसायमा संलग्न १० जना विभिन्न राजनीतिक दलबाट प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसले ५ जना, एमालेले ३ जना, राप्रपा र नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) ले १–१ जनालाई चुनावी मैदानमा उतारेको छ ।

इलाम क्षेत्र नं. १ बाट नेपाली कांग्रेसले डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । कांग्रेस जिल्ला अध्यक्षसमेत रहेका खड्का प्रतिनिधिसभामा पहिलो पटक उम्मेदवार बनेका हुन् । उनले एमाले नेता सुवास नेम्वाङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गणेश दुलालसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

नेकपा एमालेले उदयपुर–२ बाट अम्बरबहादुर रायमाझी उम्मेद्वार बनाएको छ । अघिल्लो निर्वाचनमा उक्त क्षेत्रबाट माओवादी केन्द्रका उम्मेदवार सुरेश राईले कांग्रेस उम्मेदवारलाई पराजित गरेका थिए । रायमाझीले यसपटक नेकपा (एस) का जग्गनाथ खतिवडा र राप्रपाका वंशिधर न्यौपानेसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

सप्तरी–१ बाट कांग्रेसले दोस्रो पटक रामदेव साह तेलीलाई उम्मेदवार बनाएको छ । यसअघिको निर्वाचनमा संघीय समाजवादी फोरमका उम्मेदवार डा. सूर्यनारायण यादव निर्वाचित भएका थिए । त्यसबेला तेलीले १५ हजार २ सय २५ मत प्राप्त गरेर तेस्रो भएका थिए । यसपटक उक्त निर्वाचन क्षेत्रमा चारजना उम्मेदवार छन् । राप्रपाका विष्णुदेव यादव जनता समाजवादी पार्टी (जसपा) का नवकिशोर साह सुडी र जनमत पार्टीका डा. जयकान्त राउतसँसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । उनको मुख्य प्रतिस्पर्धा जसपाका सुडीसँग हुने बताइएको छ ।

राप्रपाले यसपटक पनि विक्रम पाण्डेलाई चितवन–३ बाट उम्मेदवार बनाएको छ । प्रतिनिधिसभा निर्वाचनमा उनको यो दोस्रो प्रतिस्पर्धा हो । अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग उनी पराजित भएका थिए । त्यसबेला उनले ३८ हजार ९ सय ३५ मत प्राप्त गरेका थिए । उक्त निर्वाचन क्षेत्रमा यसपटक माओवादी अध्यक्ष दाहाल उम्मेदवार छैनन् ।

रामेछापबाट कांग्रेसले पूर्णबहादुर तामाङलाई उम्मेदवार बनाएको छ । रामेछापबाट तामाङले दोस्रो पटक प्रतिस्पर्धा गर्दैछन् । त्यसबेला उनी माओवादी उम्मेदवार श्यामकुमार श्रेष्ठसँग पराजित भएका थिए । उनले ३५ हजार ७ सय ७१ मत प्राप्त गरेका थिए । यसपटक उनले एमाले उम्मेदवार कैलाश ढुंगेलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

काभ्रे–१ बाट नेकपा एमालेले रेशमबहादुर लामालाई उम्मेदवार बनाएको छ । एमालेबाट उनी पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुँदैछन् । उक्त निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका ११ उम्मेदवार छन् । मुख्यगरी माओवादी उम्मेदवार सूर्यमान दोङसँग उनको प्रतिस्पर्धा हुनेछ ।

स्याङ्जा–१ बाट नेपाली कांग्रेसले उम्मेदवार बनाएका राजु थापा निर्माण व्यवसायी हुन् । उक्त निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १३ जना उम्मेदवार छन् । मुख्य गरी एमाले उम्मेदवार नारायण मरासिनीसँग थापाको प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

रसुवाबाट नेपाली कांग्रेसले दोस्रो पटक निर्माण व्यवसायी मोहन आचार्यलाई उम्मेदवार बनाएको छ । यसअघि उनी एमाले उम्मेदवार जर्नादन ढकाललाई पराजित गरी अत्याधिक मतले विजयी भएका थिए । रसुवामा यसपटक विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ६ जनाले उम्मेदवारी दिएका छन् । विशेष गरी यसपटक एमाले उम्मेदवार छेवाङ तेन्जिङ तामाङसँग आचार्यले प्रतिस्पर्धा गर्नुपर्नेछ ।

नेकपा (एस) बाट डोल्पामा उम्मेदवार बनेका धनबहादुर बुढामगर र एमालेबाट उम्मेदवार बनेका गणेशबहादुर शाही दुवै निर्माण व्यवसायी हुन् । डोल्पामा अन्य राजनीतिक दलले उम्मेदवार नउठाएकाले यी दुईबीच मात्र प्रतिस्पर्धा हुनेछ ।