लन्डन । युएफा च्याम्पिएन्स लिगमा इंग्लिस क्लब लिभरपुलले फराकिलो जित निकालेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुलले रेन्जर्सलाई ७–१ गोल अन्तरले हराएको हो ।
लिभरपुलका लागि मोहमद सलाहले कीर्तिमानी ह्याट्रिक पूरा गरेपछि लिभरपुलले पुनरागमन गर्दै फराकिलो जित निकालेको हो । खेलको १७ औं मिनेटमा स्कट एरिफिल्डले गोल गर्दै रेन्जर्सलाई सुरूआती अग्रता दिलाएका थिए ।
खेलको २४ औं मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याए । ५५ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । ६६ औं मिनेटमा डार्विन नुनेजले गोल गर्दा लिभरपुल ३–१ ले अघि रह्यो ।
खेलको ७६, ८० र ८१ औं मिनेटमा गोल गर्दै सलाहले ह्याट्रिक पूरा गरे । डार्विन नुनेज च्याम्पियन्स लिग फुटबलमा सर्वाधिक चाँडो ह्याट्रिक पूरा गर्ने खेलाडी बन्न सफल भएका छन् । जितसँगै लिभरपुलले ४ खेलमा ९ अंक जोडेको छ भने समूह ‘ए’ को दोस्रो स्थानमा रहेको छ । रेन्जर्स अंक विहीन रहदै पुछारमा रहेको छ ।
बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा
भिक्टोरिया प्लेजेनलाई ४-२ गोलको नतिजामा पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । समूह चरण अन्तर्गत बुधबार रातिसम्पन्न खेलमा बायर्नलाई जित दिलाउन लियोन गोर्टेज्काले दुई गोल गरे ।यस्तै साडियो माने र थोमस मुलरले समान एक गोल गरे ।
खेलको १०औं मिनेटमा मानेको गोलबाट बायर्नले सुरुआती अग्रता बनाएको थियो ।मुलरले १४औं मिनेटमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारेका थिए । खेलको २५ औं मिनेटमा गोर्टेज्काले गोल गर्दै बायर्नलाई ३-० को अग्रता दिलाए ।
गोर्टेज्काले ३५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ४-० को अग्रता दिलाए ।एडमले ६२ औं मिनेटमा गोल गर्दै प्लेजेनलाई ४-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ७५ औं मिनेटमा प्लेजेनका जान क्लिमेन्टले गोल गरेपनि बायर्न ४-२ ले विजयी भयो । जितसँगै समूह सी को बायर्नले ४ खेलमा १२ अंक जोडेको छ । प्लेजेन अंक विहीन रहदै पुछारमा छ ।
प्रतिक्रिया