नवौँ राष्ट्रिय खेलकुदको पोखरामा भव्य उद्‍घाटन (फोटोफिचर)

नवौँ राष्ट्रिय खेलकुदको पोखरामा भव्य उद्‍घाटन (फोटोफिचर)


ग्लोब नेपाल
189
Shares

काठमाडौं । गण्डकी प्रदेशको पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्‍घाटन गरिएको छ।

पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटन समारोहका अवसरमा मार्चपाससहित विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको छ ।‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुरु नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनबाट औपचारिक उद्घाटन गरिएको कार्यक्रममा रङ्गशालामा सातवटै प्रदेश, तीन विभागीय, एनआरएन सहित ११ टिमका खेलाडी, अफिसियल, प्रशिक्षक, खेलप्रेमी र आम सर्वसाधारणको हजारौँ सहभागी छन् ।

उद्घाटन समारोहमा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, गण्डकी प्रदेशका गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, आयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतका विशिष्ट व्यक्तिको सहभागिता छ ।

उद्घाटन समारोहमा सातवटै प्रदेशका टिम, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास गरिएको छ । मार्चपासमा नवौँ राष्ट्रिय खेलकुदका लागि तयार गरिएको गण्डकी प्रदेशमा पाइने कस्तुरी मृगको मस्कट सहभागी छ । यस क्रममा विभिन्न जातजातिका सांस्कृति झाँकी प्रस्तुत गरिएको छ । रङ्गशालाका प्यारापिटमा खेलकुद प्रेमीको उल्लेख्य उपस्थिति छ ।

समारोहमा मूल आयोजक समितिका अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री गहतराजले नवौँ राष्ट्रिय खेलकुदको झण्डा झण्डोत्तोलन गगरेका थिए । झण्डामा गण्डकी प्रदेशको राजधानी पोखरा र माछापुच्छे«ई रेखाङ्कित गरिएको छ ।

प्रतियोगितामा करिब एक हजार तीन पदकका लागि प्रतिस्पर्धा हुन लागेको हो । विसं २०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा विसं २०४० मा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने अवसर पाएको पोखरालाई ३९ वर्षपछि नवौँ राष्ट्रिय खेलकुद घरेलु मैदानमा गर्ने मौका मिलेको हो ।

छत्तीस खेलमध्येका २६ खेल पोखरामा र अन्य गण्डकीका सात जिल्लामा भइरहेको छ । गण्डकीका लमजुङ, मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा नवौँ राष्ट्रिय खेलकुदका खेल सञ्चालन भएका छन् ।