मेलबर्न । टी–२० विश्वकपमा सर्वाधिक प्रतीक्षित मानिएको भारत र पाकिस्तानबिचको खेल आइतबार हुँदै छ। मेलबर्न क्रिकेट मैदानमा समूह २ अन्तर्गत हुने खेल दिउँसो १:४५ मा सुरु हुने छ।
उक्त खेलका लागि १ लाख दर्शकले मैदानमा र करिब ३० करोडले टिभी तथा डिजिटल प्लेटफर्मबाट खेल हेर्ने अनुमान गरिएको छ। भारत-पाकिस्तानको खेलमा वर्षाको सम्भावना पनि कमजोर रहेकाले प्रतियोगिता बहुप्रतिक्षित बनेको छ।
३७ वर्षपछि मेलबर्नमा २ टिम भिड्दै
अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदान (एमसिजी) मा ३७ वर्षपछि भारत र पाकिस्तान एकअर्का विरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुन्। पछिल्लो पटक १९८५ मा बेसन एन्ड हेजेस विश्व च्याम्पियनसिपमा दुवै टिम प्रतिस्पर्धा गरेका थिए । जहाँ सुनिल गावस्करले भारतको कप्तानका रूपमा अन्तिम खेल खेलेका थिए। यो खेलपछि यी दुई टिमबिच त्यसपछि यो मैदानमा आइतबार प्रतिस्पर्धा हुन लागेको हो।
कस्तो छ मेलबर्नको पिच ?
एमसिजी मैदानमा पछिल्ला ५ खेलमा लक्ष्य पछ्याउने टिमले जित हासिल गरेको छ। यी पाँच खेलमा सर्वाधिक उच्च स्कोर १ सय ७५ रन बनेको थियो। जुन अस्ट्रेलियाले श्रीलंकाविरुद्ध बनाएको थियो।
पहिलो इनिङमा औसत १ सय ४५ को रन बनेको छ। दोस्रो इनिङको औसत १ सय ४० रन रहेको छ। भारतले यो मैदानमा एक इनिङमा सर्वाधिक १ सय ८४ रनसम्म बनाएको छ। पाकिस्तानको भने यो मैदानमा औसत स्कोर १ सय २५ रहेको छ। यो पिचमा तीव्र बलर हाबी हुँदै आएका छन्।
अघिल्लो विश्वकपमा भारत १० विकेटले पराजित
दुई टिमबिच टी–२० विश्वकपमा अहिलेसम्म ६ पटक प्रतिस्पर्धा भएको छ। भारतले पाँच पटक पाकिस्तानलाई पराजित गर्दा पाकिस्तानले भने एक पटक मात्र भारतलाई हराएको छ । भारतीय क्रिकेट टिमले गत वर्ष युएइमा भएको टी–२० विश्वकपका दौरान पाकिस्तानसँग १० विकेटको हार भोगेको थियो।
टी–२० फर्म्याटमा अहिले सम्म ११ खेल भएको छ। ७ खेलमा भारत विजयी हुँदा ३ खेलमा पाकिस्तानले जित हासिल गरेको छ। १ खेल बराबरी भएको छ।
प्रतिक्रिया