देउवाको प्रश्नः केपी ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ ?

देउवाको प्रश्नः केपी ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ ?


ग्लोब नेपाल
1.7k
Shares

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

शनिबार गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले समावेशी राजनीति, समावेशी संविधान बचाउन पनि गठबन्धनको सरकार बनाउन आवश्यक रहेको बताए ।

“समावेशी राजनीति, समावेशी संविधान बचाउन पनि गठबन्धनको सरकार बनाउन आवश्यक छ”, उनले भने, “धेरै लामो लडाईंपछि ल्याएको प्रजातन्त्र, समावेशी संविधान बचाउनुपर्ने आवश्यकता छ ।” प्रधानमन्त्री देउवाले अतिक्रमित भूमि कूटनीतिक र वार्ताका माध्यमबाट फिर्ता ल्याएरै छाड्ने बताए ।

प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलका नेताले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुन्छ भन्दै प्रश्न गरे । “केपी ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ ?” प्रधानमन्त्री देउवाले भने, “कूटनीति र वार्ताका माध्यमद्वारा भूमि फिर्ता ल्याउने हो, त्यसका लागि भारतसित कुरा गर्ने हो ।” उनले प्रतिपक्षी दलको नेताले बोल्दैमा केही नहुने धारणा राखे ।

प्रधानमन्त्री देउवाले विगतमा राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद् विघटन गरेपछि त्यसका विरुद्धमा गठबन्धन बनेको बताए । त्यसैले चुनावपछि पनि गठबन्धन सरकार बन्ने उनको भनाइ थियो । उनले भने, “अति नै भएपछि हामी अदालत गएका हौँ ।”

उनले डडेल्धुरामा मेडिकल कलेज स्थापना र विमानस्थल बनाउने बताए । “गर्भवतीले उपचार नपाएर ज्यान गुमाउनु पर्दैन, मेडिकल पढाइ पनि यही हुन्छ”, देउवाले भने, “विमानस्थलका विषयमा सम्भाव्यता अध्ययन गरिने र जहाज ल्याएरै छोडिनेछ ।” डडेल्धुराको धेरै विकास भइसकेको बताउँदै उनले बाँकी काम पनि आफूले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सभालाई सम्बोधन गर्दै उनले माओवादी र कांग्रेस मिले सुदूरपश्चिमको विकास छिटो हुने दाबी गरे । प्रधानमन्त्री देउवाले भने, “खगराज भट्ट माओवादीको नेता हो । उहाँ र हाम्रो पार्टीका साथी मिल्यो भने सुदूरपश्चिमको विकास हुन्छ । डडेल्धुराको सबैभन्दा बढी विकास हुन्छ । ”