काठमाडौं । आशिफ शेख र ज्ञानेन्द्र मल्लको शानदार अर्धशतकसँगै नेपालले युएईसँगको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलामा जित हासिल गरेको छ । नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा युएईलाई ६ विकेटले हराउँदै नेपालले सिरिज २-१ ले आफ्नो बनाएको हो । युएईले दिएको १ सय ७७ रनको लक्ष्य नेपालले ४० ओभर १ बलमा ४ विकेट गुमाएर १ सय ८० रन जोड्दै पूरा गर्यो ।
नेपालको जितमा आसिफ र ज्ञानेन्द्रले अर्धशतकीय इनिङ खेले ।दुई पटक जीवनदान पाएका आसिफले अविजित रहदै सर्वाधिक ८८ रनको अर्धशतकीय इनिङ खेले । उनले १ सय १९ बलमा १२ चौका प्रहार गरे । यस्तै मल्लले ७३ बलमा ७ चौका र ३ छक्कासहित ६४ रनको योगदान दिए ।
कप्तान रोहित पौडेलले १० तथा ओपनर अर्जुन साउद ९ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरी सुन्य रनमा रन आउट भए । हरिशंकर साह सुन्य रनमा अविजित रहे । नेपालले घरेलु मैदानमा पहिलो पटक द्विपक्षीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको हो । सिरिज अन्तर्गत पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो । तर, दोस्रो खेलमा नेपालले ३ विकेटको जित हासिल गरेको थियो ।
यस्तै कप्तान रोहित पौडेलले आफ्नो कप्तानी डेब्युमै नेपाललाई एकदिवसीय अन्तराष्ट्रिय सिरिज जिताएका छन् । सन्दीप लामिछाने निलम्बन भएपछि क्यानले यसै सिरिज अघि रोहितलाई कप्तानी दिएको हो ।
प्रतिक्रिया