दाहाल तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त

दाहाल तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त

सोमबार ४ बजे शपथग्रहण


ग्लोब नेपाल
1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा नेपालको ४४औं प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई नियुक्त गरेकी हुन् । उनी यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री बनेका थिए ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रचण्डलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ । प्रचण्डले ती सांसदहरुको समर्थनसहित राष्ट्रपतिसमक्ष दावी पेश गरेका थिए ।

उनलाई माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीको समर्थन रहेको छ । आजै शपथको तयारी भए पनि समय अपुग भएकाले सोमबार ४ बजे शपथग्रहण गराउने तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।