पोखरा । काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको ९– एनएएनसी एटीआरको दुर्घटनाग्रस्त जहाजबाट ३ जनाको जीवितै उद्दार गरिएको थियाे । दुर्घटनास्थल नजिकैका स्थायीय विकास बस्यालका अनुसार म घरबाहिर घाम तापेर बसिराखेको थिएँ । एक्कासी ठूलो आवाजसहित जहाज मेरो आँखै अगाडी सेती खोचको डिलमा बजारियो । प्लेन खस्नेबित्तिकै गेट खोलेर (सेतीखोंचलाई वरिपरि फलामे तारले घेरेर बन्द गरिएको छ, जसमा भित्र पस्न गेट बनाइएको छ) म भित्र दौडिएको हुँ ।
चप्पल पनि लगाको थिइनँ । म पुग्दासम्म अरु कोही पनि पुगेका थिएनन् । सुरुमा हेर्दा एकजना केटीलाई डिलमा देखें । म उनै भएकोतिर दौडिएको हुँ । त्यहाँ पुगेर मैले उनलाई तानें । सास चलिरहेको थियो । त्यो केटीलाई पानी नदिनूभन्दै थिएँ, अर्को एकजना बुढो दाइ आएर पानी हालिदियो । मैले नहाल्नू नहाल्नू भन्दा भन्दै बुढोले पानी, माटो हाल्दियो ।
घटना हुँदा १४-१५ जना नजिकै थिए । तर, त्यहाँ आएर कोही बचाउन आएनन् । प्लेन सुरुमा बाहिरै ठोक्किएर तल खसेको थियो, बाहिर ठोक्किँदा केही मान्छे बाहिर खसे । उनीहरुलाई मैले निकाले । ३ जनाको त सासै चलिराखेको थियो ।
पछि उनीहरुलाई गण्डकी अस्पाल लगेको सुनें, अहिले के भयो थाहा छैन । मैलेचाहिँ डिलबाट ज्युँदै निकालेको हुँ । बाहिर अरु पनि खसेका थिए, अरुलाई पनि निकाल्न आउनुभन्दा कोही आएनन् । सबै भिडियो बनाएर बसे । अझ मैले त ‘तपाईंका बाबुआमा होलान्, दाजु भाइ होलान् आउनुस्’ भनेको हुँ । मेरो कुरा सुनेनन्, म एक्लैले ७ वटालाई बाहिर निकालें ।’
प्रतिक्रिया