काठमाडौं । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती भुइँ तहबाट राज्यको उच्च निकायका पुग्ने थोरै भोजपुरेमध्येको एक हुन् । नेकपा (माओवादी केन्द्र)का नेता किराती पछिल्ला तीनवटा निर्वाचनमा लगातार भोजपुरबाटै विजयी भएका थिए । विसं २०६४ को संविधानसभा निर्वाचनमा २९ वर्षको उमेरमा नै संविधानसभा सदस्यमा निर्वाचित भएका किराती संविधान निर्माणमा सक्रिय सहभागी भए । प्रतिनिधिसभा सदस्य भए पनि नियमित भोजपुर पुग्ने र जनतासँग घुलमिल गर्ने उनको स्वभावलाई धेरैले मन पराएका छन् ।
माओवादी आन्दोलनका क्रममा नौ वर्ष भूमिगत भएका किराती जनशैली पछ्याउने थोरै नेतामध्ये एक हुन् । पूर्वेली लवजमा बोल्ने, जनताले जे खोज्छ त्यस्तै रुपमा प्रस्तुत हुने किरातीको स्वभाव आफैँमा अनुकरणीय रहेको माओवादीका नेता तथा कार्यकर्ताको टिप्पणी छ । विसं २०६१ बाट २०६३ सम्म २३ महिना बन्दी जीवन बिताएका किरातीले २०७४ र २०७९ मा पनि सोही जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
हर्कबहादुर राई र माताको नाम रक्षाकुमारीको सुपुत्रका रुपमा विसं २०३५ फागुन २२ गते भोजपुरको ओख्रेमा जन्मिएका हुन् किराती । विसं २०४६ को जनआन्दोलनपछि विद्यार्थी आन्दोलनमा सहभागी भएर राजनीतिमा प्रवेश गरेका उनको शैक्षिक योग्यता भने विद्यालय तह बराबर छ ।
मन्त्री बन्ने भएपछि उनले मंगलबार आफ्ना पिता हर्कबहादुरसँग गरेको भावनात्मक संवाद सार्वजनिक गरेका छन् । किराती आज अस्पताल पुग्दा उनका पिता शय्यामा आराम गरिरहेका थिए । डाँडाको जुन घाम जस्तै बुबासँग कुराकानी गरेको सार्वजनिक गरेको भन्दै उनले सामाजिक सञ्जालमा सोही भावनात्मक संवाद उल्लेख गरेका छन्।
मन्त्री किराती र उनका बुबाबीच भएको संवाद जस्ताका त्यस्तै :
फोकल्यान्डको टापुको लडाइँबाट बचेर आएको यही दिन देख्न रहेछ भन्दै हर्कबहादुरले खुसी व्यक्त गर्नुभएको छ । पिताले मन्त्री बनेको पत्याउनु भएको छैन र सुदनलाई सोध्नुहुन्छ, “हँ होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना हो कि बिपना हो ?”
डाँडाको जुन घाम जस्तै बुबासँग कुराकानी
मैले भने, “बुबा म मन्त्री हुने भएँ छु ।”
बुबाः “हँ, होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना हो कि विपना हो ?”
किराती भन्नुहुन्छ, “म हो बुबा साँच्चै हो बिपना नै हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ।”
बुबाः “मन्त्री चाहिँ कसरी भइस् ? कसले गर्दा भइस् ?”
मः “पहिलो त तपाईंहरुले जन्माउनु भयो, दोस्रो त मैले धेरै राजनीतिमा दुःख गरँे, तेस्रो जनताले माया र भरोसा दियो, चौथो पार्टीले विश्वास ग¥यो ।”
बुबाः “राम राम राम… म उहिले फोक्लेन्डको लडाइँमा मरेको भएँ यो दिन सुन्न र देख्न पाउँदिन थें ।”
मः “म पनि जनयुद्धमा मरेको भए त्यस्तै त हो ।”
बुबाः “हाम्रो वंशमा वडा अध्यक्षसम्म कोही भएनौँ राम्रो गर्नु ।”
मः “पाउनु ठूलो कुरा होइन काम गर्नु ठूलो कुरा हो । म मेहनत गर्छु । आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामीसँगै हुन पाएको भए ।”
बुबाः “म गएपछि तेरो आमासँग भेट हुन्छ नै होला म सबै भनिदिउँला ।” बुबा रुनु भो
म : “सम्झे बुबाले मलाई जेलमा भेट्न आउँदा पनि ऊ बेला धेरै रुनुभएको थियो । आज पनि उस्तै रुनु भो तर प्रसङ्ग बेग्लाबेग्लै थियो, आँसु भने उस्तै, आँसुको मुहान र भाव भने फरक ।”
प्रतिक्रिया