काठमाडौं । फाइनलमा नेपाललाई ३–० ले पराजित गर्दै बंगलादेशले साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।
बंगलादेशको कमल मुस्तफा रंगशालामा बिहीबार सम्पन्न फाइनलमा जित दिलाउन घरेलु टिमका सहिदा अख्तर रिपा, कप्तान सामसुनहर र मह्फुजा खातुनले गोल गरिन् ।
बंगलादेशले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको ४२औँ मिनेटमा सहिदा अख्तर रिपाले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफको इन्जुरी समयमा कप्तान सामसुनहर जुनियरले गोल गर्दै बंगलादेशको अग्रता दोब्बर पारिन् । यस्तै, खेल सकिन चार मिनेट बाकी रहदा मह्फुजा खातुनले गोल गरेपछि बंगलादेशले ३–० को जित पक्का गर्यो ।
बंगलादेश अपराजित रहँदै प्रतियोगिताको च्याम्पियन बनेको हो । पहिलो खेलमा नेपाललाई ३–१ ले हराएको बंगलादेश दोस्रो खेलमा भारतसंग गोलरहित बराबरीमा रोकिएको थियो । तर, तेस्रो खेलमा भुटानलाई ५–० ले पराजित गरेपछि बंगलादेश अपराजित रहँदै फाइनलमा प्रवेश गरेको थियो ।
यता पहिलो खेलमा बंगलादेशसंग ३–१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानविरुद्ध ४–० को र तेस्रो खेलमा उपाधि दाबेदार भारतको चुनौती ३–१ ले पन्छाउँदै च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको थियो ।
च्याम्पियनसिपमा नेपाल, भारत, भुटान र बंगलादेश गरी चार टिम सहभागी थिए । राउन्ड रोबिन पद्धतिमा संचालित प्रतियोगिताको शीर्ष दुई टिम फाइनल प्रवेश गरेका थिए ।
प्रतिक्रिया