ओलीको दाबी- प्रचण्डजीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्दैनन्

ओलीको दाबी- प्रचण्डजीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्दैनन्



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेलाई धोका नदिने दाबी गरेका छन् ।

बिहीबार ओली निवास बालकोटमा आयोजित कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रचण्डले एमालेसँग पुस १० गते नै सम्झौता गरिसकेको भन्दै अरुलाई माओवादीले समर्थन नगर्ने दाबी गरेका हुन् ।

राष्ट्रपतिमा कांग्रेसलाई प्रचण्डले समर्थन गरेमा गठबन्धन के हुन्छ ? भन्ने पत्रकारको प्रश्नको जवाफमा ओलीले पुस १० को सम्झौता कायम रहने बताए । उनले भने, ‘उहाँले सर्पोट गर्दै गर्नु हुन्न । गर्ने मिल्दैन । किन भने उहाँले हामीसँग पुस १० गते सम्झौता गरिसक्नु भएको छ ।’

अध्यक्ष ओलीले राष्ट्रपतिमा माधव नेपाल र सुवास नेम्बाङको नाम अघि सारेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिअनुसार नै राष्ट्रपति बनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।

यसैबीच, राष्ट्रपति चयनबारे प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जसपासँग छलफल गरिरहेका छन् । तीन दलका शीर्ष नेताहरुसँग माओवादीले छट्टाछट्टै छलफलपछि आजै साझ पुरानै पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्ने जनाइएको छ ।