लुम्बिनी जनरल इन्स्योरेन्स १८औं वार्षिक साधारण सभाबाट लाभांश प्रस्ताव पारित

लुम्बिनी जनरल इन्स्योरेन्स १८औं वार्षिक साधारण सभाबाट लाभांश प्रस्ताव पारित



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं वार्षिक साधारण सभा ११ फाल्गुण, २०७९ काठमाडौंमा सम्पन्न भएको छ । सभा औपचारिक रुपमा शुरु हुनुभन्दा अगाडि कम्पनीका संस्थापक अध्यक्ष हिमालय शमशेर राणाको गत माघ २२ गते निधन भएकोमा दुख प्रकट गर्दै उनको आत्माको चीरशान्तिको कामना गरी एक मिनेट मौन धारण गरिएको थियो ।

सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले कम्पनीको व्यवसाय लगायतका अन्य कामकारवाहीहरु, यस कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी लि. गाभिने सम्बन्धमा भएका सहमति, सम्झौताहरु, कम्पनी गाभिएपछिको अबस्था आदिका बारेमा शेयरधनीहरुलाई बिस्तृत रुपमा जानकारी गराए । सभामा बिभिन्न शेयरधनीहरुले आफ्नो मन्तव्य राख्दै सगरमाथा इन्स्योरेन्स कम्पनी लि. संग हुन लागेको मर्जरप्रति खुसी प्रकट गर्दै सफलताको कामना गरे ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाव, आ.व. २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीहरुलाई कर प्रयोजनको लागि ०.३६७९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बिशेष प्रस्ताव अन्तर्गत कम्पनीको हालको चुक्ता पूंजीको ६.९९ प्रतिशतले खुद हुन आउने बोनस शेयर बितरण गर्ने र सो बमोजिम कम्पनीको जारी तथा चुक्ता पूंजी बृद्धि गर्ने प्रस्ताव पारित गरिएको छ ।

त्यसैगरी, यस कम्पनी र सगरमाथा इन्स्योरेन्स गाभिने, गाभिएपछिको कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. कायम रहने, सगरमाथा इन्स्योरेन्स कम्पनी लि. र यस कम्पनीको शेयर आदान-प्रदान अनुपात १००:८० हुने गरी स्वाप रेसियो कायम गर्ने, बिस्तृत लेखापरीक्षण (DDA) बापतको पारिश्रमिक अनुमोदन गर्ने, दुबै कम्पनी मर्ज भएपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. मा प्रतिनिधित्व गर्ने सञ्चालक तोक्ने र मर्जर लगायत कम्पनीको तर्फबाट गर्नुपर्ने बांकी सम्पूर्ण कामहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।

सभाको औपचारिक कार्यक्रम सम्पन्न पश्चात कम्पनीमा १० बर्षभन्दा बढि सेवा गरेका कर्मचारीहरुलाई ताम्रपत्र सहित दोसल्ला ओढाई सम्मान गरियो ।