रोम । इटालियन क्लब युभेन्ट्स युरोपा लिग फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ । बिहीबार राति भएको नकआउट चरणको प्ले अफको दोस्रो लेगमा नान्टेसलाई ३–० ले हराउँदै समग्रमा ४–१ को जित सहित युभेन्ट्सले अन्तिम १६ मा स्थान बनाएको हो । पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो ।
नान्टेसमा भएको खेलको पाँचौं मिनेटमा डी मारियाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । २० औं मिनेटमा डी मारियाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ७८ औं मिनेटमा डी मारियाले ह्याट्रिक पूरा गर्दै युभेन्ट्सलाई ३–० को जित दिलाए ।
खेलको १७ औं मिनेटमा एन पालोइसले रातो कार्ड पाएपछि नान्टेस १० खेलाडीमा समेटियो ।
युरोपा लिगकै अर्को खेलमा नेदरल्याण्ड्सको पि.एस.भी आइन्डोभनलाई ३–२ ले हराउँदै स्पेनको सेभिया पनि राउण्ड अफ सिक्सटिनमा पुगेको छ । यस्तै, फ्रान्सको मोनाकोलाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै जर्मनीको बायर लिभरकुजेन तथा अर्को फ्रेन्च क्लब रेनेजलाई पेनाल्टीमै ५–४ ले हराउँदै युक्रेनको शख्तर डोनेट्स्क पनि राउण्ड अफ सिक्सटिनमा उक्लिएका छन् ।
युरोपा लिगका अन्य दुई खेलहरुमा इटालीको ए.एस रोमाले अष्ट्रियाको साल्जवर्गलाई २–१ ले हराउँदा पोर्चुगलको स्पोर्टिङ लिस्बनले डेनमार्कको एफ.सी मिजिल्याण्डलाई समग्रमा ५–१ ले पाखा लगाएको छ ।
प्रतिक्रिया