काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेपाली कांग्रेसलाई राष्ट्रपति दिएर राष्ट्रिय सहमति गर्न प्रस्ताव गरेको बताएका छन् ।
प्रचण्डले एमाले अध्यक्ष ओलीसँग पहिलो दल भएका नाताले कांग्रेसलाई राष्ट्रपति दिन आग्रह गरे पनि ओली नमानेको बताएका छन् । ‘कांग्रेस ठूलो दल हो । उसलाई राष्ट्रपति दिएर राष्ट्रिय सहमति गरौं । किनकि तपाइँहरूले सभामुख पाइसक्नुभएको छ । राजनीतिक प्रक्रियालाई सबैतिरबाट इंगेज गरेर स्थायित्व कायम गरौं भनेर प्रस्ताव गरेको हुँ। उहाँले मान्नुभएन,’ उनले भने ।
प्रचण्डले ८ दलबीच राष्ट्रपतिमा भएको सहमतिपछि एमाले लगभग प्रतिपक्षी दल भएको बताएका छन् । महेन्द्र नारायण निधिको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले कानुनी र प्रक्रियाको हिसाबले अब नयाँ प्रक्रियामा नयाँ सरकार बन्ने वा पुनर्गठन हुने बताएका हुन् ।
‘८ दलको बीचमा भएको राष्ट्रिय सहमति नै हो भन्ने मेरो बुझाई छ । किनभने हामी मिल्न जरुरी थियो । सबैलाई राजनीतिक प्रक्रियामा लान पनि यो आवश्यक थियो । एमाले पनि कतै जान सक्ने स्थिति छैन । प्रतिपक्षमा जान सक्नुहुन्छ । करिब करिब जानुभयो । राप्रपाका मन्त्रीले पनि राजीनामा दिएका छन्’, उनले भने, ‘सम्भवतः कानुनी हिसाबले नयाँ प्रक्रियातिर जानु नै पर्छ । सरकार नयाँ बन्छ वा पुनगर्ठन हुन्छ आदि इत्यादि । तर फेरि पनि एमालेको सभामुखबाट फुत्किएर जाने अवस्थामा छैन ।’
प्रतिक्रिया